म्याग्दी : रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण गरिएको छ। सडक निर्माणपछि विस्थापित बनेको परम्परागत पदमार्गलाई पुनःनिर्माण गरी व्यवस्थित बनाइएपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको छ ।
रघुगङ्गा गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ७ र ८ का बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन–जान प्रयोग गर्ने उक्त पदमार्गलाई पुनःनिर्माण गरिएको हो । एकीकृत सेवा कार्यालय म्याग्दीको सहयोगमा राहुघाटदेखि बगैँचातर्फ ८० मिटर पक्की सिँढी र १३७ मिटर दूरीमा फलामको रेलिङसहितको पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजन गरेको पाँच लाख रुपैयाँको बजेटबाट पदमार्ग निर्माण गरिएको हो । निर्माण कार्यमा स्थानीय उपभोक्ताले ३६ हजार रुपैयाँबराबरको श्रमदानसमेत गरेका छन् ।
करीब दुई दशकअघि सडक मार्ग खुलेपछि प्रयोगमा कमी आएको उक्त पदमार्ग पछिल्लो समय पहिरोका कारण जीर्ण बनेको थियो । विशेषगरी घाटमा शव ल्याउने क्रममा मलामीलाई आवतजावत गर्न निकै कठिन हुने अवस्था थियो। भिरालो तथा अप्ठ्यारो स्थानमा सिँढी र फलामे रेलिङसहितको पदमार्ग निर्माण भएपछि यात्रा सुरक्षित र सहज भएको बगैँचाका स्थानीय बासिन्दा नारायण सुवेदीले बताए ।
म्याग्दी–१ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जिल्लाकै ठूलो बस्तीले प्रयोग गर्ने यस पदमार्गलाई थप व्यवस्थित बनाउन आगामी वर्षको वार्षिक योजनामा समावेश गरी आवश्यक बजेट व्यवस्था गर्न पहल गरिने बताए ।


