मुस्ताङ, – यहाँका तल्लो मुस्ताङका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । हिउँदयामका कारण दुई महिना बन्द रहेका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालयहरू शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङले खुलाएको जनाएको छ ।
विद्यालयहरूले अर्धवार्षिक परीक्षा सकाएर पुस महिनाको पहिलो हप्तामा विद्यार्थीहरूलाई जाडो बिदा दिएको थियो । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामेश्वर लामिछानेका अनुसार ती क्षेत्रमा हाल १८ वटा विद्यालय सञ्चालनमा छन् ।
मुस्ताङमा हिउँदयामका कारण पूरै विद्यालय बन्द भएका शैक्षिक संस्थाले ४५ दिनको सरकारी बिदा र १५ दिनको सट्टा बिदा कटौती गरी दुई महिना बन्द गर्ने प्रचलन रहेको छ । त्यस्तै, जाडो छल्न बढी हिमाल झरेका माथिल्लो मुस्ताङका विद्यालयहरूले ४५ दिने सरकारी बिदा दिएकोपछि वैशाख महिनामा पठनपाठन सुरु गर्ने तयारी गर्छन् ।



