काठमाडौँ – ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको “पावर इन एक्सन ः हर टाइम इज नाउ” अन्तरसंवादले महिला नेतृत्व, समानता र सशक्तिकरणका विविध आयामहरूमा प्रकाश पार्दै समालोचनात्मक दृष्टिकोण प्रस्तुत गरेको छ । यस कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला लक्षित सेवा र कार्यक्रमहरूमा नगरपालिकाको व्यावहारिक पहल र नवप्रवर्तनमा आधारित रणनीति प्रस्तुत गरेकीहुन् ।
डंगोलले कार्यक्रममा भनिन्, “कानुनबाट विधि स्थापित गर्ने, उद्यमशीलताबाट आर्थिक सशक्तिकरण गर्ने, सेवा सहजताबाट पहुँच स्थापित गर्ने दिशामा हामी क्रियाशील छौँ ।” उनका अनुसार, महिलाका नाममा स्वीकृत हुने भवन नक्सामा छुट दिने प्रस्ताव आगामी नगर सभामा पेश गरिनेछ। कार्यस्थलमा हुने हिंसाका लागि प्रचलित कानुनको प्रभावकारी प्रयोग गरिने र आवश्यकताअनुसार नयाँ कानुनको तर्जुमा पनि हुनेछ । साथै, घरमै बसेका गृहिणी महिलालाई आय आर्जनमा जोड्ने कार्यक्रमको कार्यविधि तयार गरिने योजना छ ।
डंगोलको पहलले तीन मुख्य आयाम समेटेको देखिन्छ । पहिलो, कानुनी पहुँच र न्यायिक सहजता, जसले महिलालाई सुरक्षा र आत्मविश्वास प्रदान गर्दछ। दोस्रो, आर्थिक सशक्तिकरण, जसले महिला उद्यमशीलता र व्यक्तिगत क्षमता विकासमा योगदान पुर्याउँछ । तेस्रो, सामाजिक समावेशिता र कार्यस्थल–घरेलु सन्तुलन, जसले लैङ्गिक समानतामाथि व्यवहारिक रूपान्तरण ल्याउँछ ।
कार्यक्रममा विधागत महिला नेतृहरूले पुरुष र महिला सम्बन्धी परम्परागत धारणा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो। सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना मल्ल प्रधानले कानुनी व्यवस्थामा खाडल रहेको र नागरिकलाई सहज न्याय दिलाउन न्यायिक विकेन्द्रीकरण आवश्यक रहेको बताए । वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गड्तौलाले निजामती सेवामा प्रवेश गर्दा भोगेका चुनौती र संघर्षको अनुभव सुनाए ।
महानगरपालिकाको वडा नं. १६ का अध्यक्ष रोजिना श्रेष्ठले विगतका सफल अभ्यासलाई संस्थागत गर्दै नवप्रवर्तनमा आधारित थप कार्यक्रम अघि बढाइरहेको बताए । सार्वजनिक सेवा प्रसारण नेपालकी नायब महाप्रबन्धक आरती चटौतले व्यक्तिगत श्रम क्षेत्रमा अझै पनि महिलाहरू कठिन परिस्थितिमा रहेको उल्लेख गरे , ।
अन्य वक्ताहरूले सामाजिक संरचना, सहअस्तित्व, नेतृत्व विकास, प्रविधि र पारिश्रमिक असमानताको चुनौतीमा ध्यान दिनुपर्नेमा जोड दिए । पर्वतारोही पूर्णिमा श्रेष्ठले उमेर र क्षमता दुवै लिङ्गका लागि समान हुनुपर्ने कुरा औँल्याउँदै, महिलालाई केवल विवाहको लागि होइन, अन्य क्षेत्रमा योगदान दिन योग्य ठान्नु पर्नेमा जोड दिनुभयो। सरसफाइ कर्मचारी रमिला पोडेले समान पारिश्रमिक र सम्मान नपाइरहेकामा दुःख व्यक्त गरे ।
कार्यक्रममा ११ जना वक्ताले विचार प्रस्तुत गर्नुभएको थियो। डा. मुस्कान पोखरेलले घरेलु हिंसासँग सम्बन्धित विम्बात्मक कविता प्रस्तुत गरे । यसैगरी, महानगरपालिकाले महिला लक्षित सेवा, न्यायिक सहजकर्ताको भूमिका, महिला सञ्जाल, मेलमिलाप अभ्यास, न्यायिक चौतारी र ‘एक वडा ः एक नमूना उद्यम कार्यक्रम’अन्तर्गत पौरखी महिलाको जीवन्त कला प्रदर्शनीसमेत आयोजना गरेको छ ।
विश्लेषण गर्दा, सुनिता डंगोलको नेतृत्व र कार्यक्रमगत रणनीतिले काठमाडौँ महानगरपालिकामा महिला सशक्तिकरण, न्याय र समानताका क्षेत्रमा व्यवहारिक परिवर्तन ल्याउने दिशामा ठोस पहल भएको देखिन्छ। कानुन, सामाजिक संरचना, आर्थिक सशक्तिकरण र नवप्रवर्तनको समन्वयले आगामी नगर सभामा प्रस्तुत हुने प्रस्ताव र कार्यक्रम कार्यान्वयनले वास्तविक परिणामका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ ।



