पोखरा — पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालन भएको २५औँ संस्करणको ‘आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगितालाई रात्रिकालीन रूपमा सञ्चालन गर्ने प्रयास सफल हुन सकेन । अस्थायी रूपमा फ्लड लाइट जडान गरेर उद्घाटन खेल सञ्चालन गरिए पनि मैदानमा पर्याप्त प्रकाश नपुगेपछि बाँकी खेलहरू दिउँसोकै समयमा सञ्चालन गर्नुपरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका आयोजक सहारा क्लब पोखराले पहिलोपटक पोखरामा रात्रिकालीन फुटबल प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले अस्थायी फ्लड लाइट प्रयोग गरेको थियो। तर प्रकाश पर्याप्त नपुगेको भन्दै खेलाडी र दर्शकबाट गुनासो आएपछि बाँकी खेलहरू दिनमै खेलाउनुपरेको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।
“पहिलोपटक रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने प्रयास गर्दा केही प्राविधिक समस्या देखिए,” अध्यक्ष थापाले भने, “निजी क्षेत्रको क्लबले अस्थायी रूपमा भए पनि फ्लड लाइट प्रयोग गरेर प्रतियोगिता सञ्चालनको प्रयास गर्नु आफैँमा महत्वपूर्ण हो, यसले सम्बन्धित निकायमा स्थायी फ्लड लाइट जडानका लागि सकारात्मक दबाब सिर्जना गरेको छ।”
उनका अनुसार अन्तरराष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालनका लागि पोखरा रङ्गशालामा स्थायी फ्लड लाइट अनिवार्य छ । ठूलो लगानीमा निर्माण गरिएको रङ्गशालामा अझै फ्लड लाइट जडान नहुनु खेल क्षेत्रका लागि चिन्ताको विषय बनेको छ ।
गत मङ्सिरमा तत्कालीन भौतिक पूर्वाधार विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले रङ्गशाला निरीक्षणका क्रममा फ्लड लाइट जडानको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो। तर हालसम्म योजना कार्यान्वयनमा आउन सकेको छैन। सहारा क्लबका अध्यक्ष थापाका अनुसार विभिन्न कारण देखाउँदै फ्लड लाइट जडानको काम पटकपटक पछि धकेलिँदै आएको छ ।
खेल क्षेत्रमा देखिएको केन्द्रीकृत मानसिकताका कारण राजधानीबाहिर खेल पूर्वाधारको विकास अपेक्षित रूपमा हुन नसकेको उनको भनाइ छ । फ्लड लाइट अभावकै कारण पोखरामा रात्रिकालीन खेल गतिविधि सञ्चालन गर्न नसकिएको बताइएको छ ।
अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को मापदण्डअनुसार पनि रङ्गशालामा फ्लड लाइट अनिवार्य हुन्छ । करिब १६ हजार ५०० दर्शक क्षमताको स्तरीय पोखरा रङ्गशालामा यस्तो पूर्वाधार नहुनुलाई खेल क्षेत्रका सरोकारवालाले दुःखद मान्दै आएका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अनुसार बजेट अभावका कारण रङ्गशालामा फ्लड लाइट जडान हुन सकेको छैन। फ्लड लाइट जडानका लागि करिब १२ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले केही वर्षअघि पाँच करोड रुपैयाँ बजेट छुट्याए पनि कोभिड–१९ महामारीका कारण काम अघि बढ्न नसकी उक्त बजेट फिर्ता भएको थियो ।
देशकै ठूलो र सुविधायुक्त रङ्गशालामध्ये एक मानिने पोखरा रङ्गशालाको सञ्चालन तथा व्यवस्थापनमा सङ्घ र प्रदेश सरकारबीच प्रभावकारी सहकार्य हुनुपर्ने माग खेल क्षेत्रबाट उठ्दै आएको छ । फ्लड लाइट जडान भएसँगै यहाँ रात्रिकालीन प्रतियोगिता र अभ्यास सञ्चालन गर्न सकिने र यसले खेल गतिविधि बढाउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।



