बागलुङ – नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ । भौगोलिक रूपमा विकट क्षेत्र भएकाले हालसम्म यहाँ केन्द्रीय लाइन पुग्न सकेको थिएन र स्थानीय बासिन्दा लघुजलविद्युत्कै भरमा बस्दै आएका थिए ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट करिब ३५ किलोमिटर पश्चिममा रहेको ढोरपाटनसम्म ११ केभी विद्युत् लाइन विस्तार गरेर केन्द्रीय प्रणालीसँग जोडेको हो । प्राधिकरणका बागलुङ प्रमुख दिलीप मरासिनीका अनुसार अघिल्लो वर्षदेखि पोल गाड्ने र लाइन तान्ने काम सुरु गरिएको थियो र बिहीबारदेखि नियमित रूपमा विद्युत् प्रसारण सुरु गरिएको छ ।
करिब रु १५ करोड लागतमा ढोरपाटनसम्म विद्युत् लाइन विस्तार गरिएको मरासिनीले बताए । उनका अनुसार ढोरपाटनसम्म लाइन पुगेपछि अब क्रमशः स्थानीयका घरघरमा विद्युत् विस्तार गरिनेछ ।
“पश्चिम बागलुङको बुर्तिबाङमा केही वर्षअघि मात्रै केन्द्रीय लाइन पुगेको थियो, त्यसपछि अधिकारीचौरसम्म विस्तार भयो र अहिले ढोरपाटनसम्म पुर्याएका छौँ,” मरासिनीले भने, “अब साना हाइड्रोपावरबाट सीमित विद्युत् प्रयोग गर्दै आएका नागरिकले केन्द्रीय लाइनको सेवा पाउनेछन् ।”
ढोरपाटन क्षेत्रका बासिन्दाले हालसम्म ४० किलोवाटको गर्पाखोला लघुजलविद्युत् आयोजना र ६० किलोवाटको ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनामार्फत विद्युत् प्रयोग गर्दै आएका थिए । तर ती आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन नहुँदा स्थानीयले लामो समयदेखि समस्या भोग्दै आएका थिए ।
ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरका अनुसार ढोरपाटन उपत्यकाका सलथान, बिजौलीखोला, छेन्तुङ, खाल्डेखुल्डेलगायत क्षेत्रमा करिब २५० भन्दा बढी घरधुरीमा अझै विद्युत् पुगेको छैन। अब केन्द्रीय लाइन विस्तारसँगै ती बस्तीमा पनि विद्युत् सुविधा पुर्याउने तयारी गरिएको छ ।
“ढोरपाटनका धेरै घरमा अझै टुकी र दियालो बालेर रात बिताउने अवस्था छ,” घर्तीमगरले भने, “केन्द्रीय लाइन आएपछि अब त्यो समस्या हट्ने अपेक्षा गरेका छौँ ।”
ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले पर्याप्त विद्युत् नहुँदा होटल व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको बताए । “अब कपडा धुने मेसिन, हिटरजस्ता उपकरण चलाउन सकिने भएको छ,” उनले भने, “ढोरपाटनमा चिसो धेरै हुने भएकाले पर्यटक र होटल व्यवसायी दुवैका लागि यो ठूलो राहत हो ।”
प्राधिकरणले हाल छेन्तुङसम्म लाइन विस्तार गरिसकेको छ भने ढोरपाटन सिकार आरक्ष कार्यालय, नेपाली सेनाको ब्यारेक र विद्यालयहरूमा पनि विद्युत् जडान गर्ने तयारी भइरहेको छ ।
ढोरपाटनमा पहिलोपटक केन्द्रीय लाइन पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय कुलबहादुर विकका अनुसार सानो क्षमताको स्थानीय हाइड्रोपावरले सबै बस्तीमा विद्युत् पुर्याउन नसक्दा धेरै घर अन्धकारमै बस्नुपरेको थियो ।
“हामीमध्ये धेरैजसो बर्खामा ढोरपाटन र हिउँदमा बेँसीतिर बस्छौँ,” विकले भने, “बर्खाभरि अँध्यारोमै बस्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या हट्ने आशा गरेका छौँ ।”



