म्याग्दी, – बेनी नगरपालिका–२ बगरफाँट हुँदै वडा नम्बर ३ को दूधेखोला जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति गरिएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित हाँडेभिर–बगरफाँट–भकिम्ली सडकअन्तर्गत बगरफाँट–कोप्रे–दूधेखोला खण्डलाई फराकिलो बनाउने, घुम्ती तथा मोड सुधार गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने कार्य सम्पन्न गरिएको हो ।
विसं २०६४ मा कृषि सडकका रूपमा खोलिएको यस सडकको स्तरोन्नतिपछि स्थानीयलाई उल्लेख्य राहत पुगेको छ । बगरफाँटका स्थानीय चन्द्रबहादुर घिमिरेका अनुसार पहिले साँघुरो र खाल्डाखुल्डी सडकका कारण वर्षायाममा हिलो र पानीले आवतजावत कठिन हुने गरेको थियो। “अहिले सडक स्तरोन्नति भएपछि २० मिनेट लाग्ने दूरी पाँच मिनेटमै पार गर्न सकिन्छ,” उनले बताए ।
करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेल गरिएको छ । हल्लेगौडा क्षेत्रमा ३९० मिटर ढलानसहित अन्य संरचनात्मक काम गरी करिब ८० प्रतिशत प्रगति भएको निर्माण कम्पनीले जनाएको छ ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत बहुवर्षीय योजनामा परेको यस आयोजनाका लागि रु पाँच करोड ५९ लाखमा माछापुच्छ्रे हिमालयन जेभी सँग ठेक्का सम्झौता गरिएको थियो । कुल करिब रु १० करोड लागत अनुमान गरिएको यस योजनाबाट सडक स्तरोन्नतिले यातायात सेवा सहज बनाएको स्थानीय ओमबहादुर घर्तीमगरले बताए ।
हाल दूधेखोलादेखि भकिम्ली जोड्ने खण्डमा ३९० मिटर सडक ढलान गर्न बाँकी रहेको छ । चैत महिनासम्म ठेक्काको म्याद भए पनि पर्याप्त बजेट अभावका कारण काम प्रभावित भएको निर्माण पक्षले जनाएको छ ।
बागलुङको ताराखोला र काठेखोला गाउँपालिका जोड्ने यस सडकले बेनी नगरपालिका तथा मङ्गला गाउँपालिकाका बासिन्दालाई सदरमुकाम बेनी आवतजावतमा ठूलो सहजता दिएको छ ।



