बजेट कार्यान्वयनमा काठमाडौँ महानगरको समीक्षा, प्रगति र गुणस्तरमा जोड

काठमाडौँ, – काठमाडौँ महानगरपालिकाले स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्न पाक्षिक बैठक सुरु गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा केन्द्रमा रहेका विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षका कार्यक्रमको प्रगति, प्रभावकारिता र चुनौतीबारे विस्तृत समीक्षा गरिएको हो ।

बैठकमा कार्यान्वयनमा आएका कार्यक्रमको गुणस्तर, लाभ र प्रभावकारिताबारे विश्लेषण गर्नुपर्नेमा जोड दिइएको छ । कार्यवाहक प्रमुख डंगोलले पूँजीगत खर्चमा मितव्ययीता अपनाउँदै कार्यक्रमले आम नागरिकसँग कसरी जोडिन्छ भन्ने पक्षमा ध्यान दिन निर्देशन दिईन् । उनले कार्यक्रम कार्यान्वयनसँगै नतिजा मापनलाई पनि समान रूपमा महत्वपूर्ण मान्नुपर्ने बताईन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँका अनुसार आगामी दिनमा सिनियर म्यानेजमेन्ट टीम (एसएमटी) मार्फत समीक्षा अझ सूक्ष्म बनाइनेछ । योजनाहरूको विवरण अद्यावधिक गर्दै पूँजीगत खर्च क्षमता बढाउने प्रणाली विकास गरिने उनले जानकारी दिए ।
प्रशासन, योजना तथा अनुगमन, र वातावरण व्यवस्थापन विभागहरूले आ–आफ्ना प्रगति तथा चुनौती प्रस्तुत गरेका छन् । प्रशासनिक खर्च घटाउने, नीतिगत समीक्षा गर्ने र फोहर व्यवस्थापनमा सुधार ल्याउने विषयमा छलफल भएको छ ।

महानगरको बजेटको सबैभन्दा ठूलो हिस्सा ओगट्ने सार्वजनिक निर्माण विभागअन्तर्गत ५ अर्ब ७७ करोड रुपैयाँ (कुल बजेटको २३ प्रतिशत) बराबरका १९१ योजना छन् । तीमध्ये हालसम्म ४८ योजना सम्पन्न भइसकेका छन्। विभागका अनुसार १ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी भई २६.८ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।

यस्तै, “धुलोरहित काठमाडौँ” कार्यक्रमअन्तर्गत पूर्व क्षेत्रमा ७६ प्रतिशत, उत्तरमा ६८ प्रतिशत, मध्यमा ६७ प्रतिशत र पश्चिममा ३० प्रतिशत वित्तीय प्रगति भएको छ । “उज्यालो काठमाडौँ” अन्तर्गत ६२ स्थानमा हाइमास्ट बत्ती जडान भइसकेका छन्, जसको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ ।

शिक्षा विभागअन्तर्गत ११९ कार्यक्रममध्ये ८९ नयाँ कार्यक्रम छन्, जसमा संघीय सशर्त अनुदानका कार्यक्रम पनि समावेश छन् । स्वास्थ्य विभागमा संघ, प्रदेश र महानगरको बजेटबाट कुल १८७ कार्यक्रम सञ्चालनमा छन्। महानगरको स्वास्थ्य क्षेत्रमा कुल बजेटको ३.९ प्रतिशत (करिब ९८ करोड रुपैयाँ) विनियोजन गरिएको छ, जसअन्तर्गत ११२ कार्यक्रम कार्यान्वयनमा आएका छन् ।

बैठकले आगामी दिनमा कार्यक्रमको समयमै कार्यान्वयन, वित्तीय अनुशासन र नतिजामुखी कार्यशैलीलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ ।