काठमाडौँ — काठमाडौँ महानगरपालिका वडा नं. २७ ले वडावासीको कलेजो स्वास्थ्य परीक्षणलाई लक्षित गर्दै वीर अस्पताल सँग सम्झौता गरेको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल को रोहवरमा वडाध्यक्ष योगेशकुमार खड्गी र अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिलिप शर्मा ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार वडा २७ का बासिन्दालाई प्रारम्भिक चरणमा वडास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रमा जाँच गरिनेछ। आवश्यक परेमा मात्र अस्पतालमा रिफर गरिने व्यवस्था गरिएको छ। यसले सेवा सहज, सुलभ र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
कार्यवाहक प्रमुख डंगोलले सहरी क्षेत्रमा नसर्ने रोगको जोखिम बढ्दै गएको अवस्थामा यस्तो कार्यक्रम प्रभावकारी हुने बताउँदै प्रारम्भिक जाँचले दीर्घकालीन स्वास्थ्य समस्या रोक्न मद्दत गर्ने उल्लेख गरे । वडाध्यक्ष खड्गीले धूमपान, मद्यपान तथा अस्वस्थ जीवनशैलीका कारण कलेजोमा समस्या बढ्दै गएकाले समयमै जाँच र सचेतना आवश्यक रहेको बताए ।
अस्पतालका निर्देशक डा. शर्माले रोग गम्भीर अवस्थामा पुगेर मात्र उपचारमा जाने प्रवृत्तिले जनस्वास्थ्यमा ठूलो जोखिम सिर्जना गर्ने भन्दै प्रारम्भिक चरणमै रोग पहिचान गर्न सकिए ठूलो संकट टार्न सकिने धारणा राखे ।
परीक्षण प्रक्रिया र सेवा
सम्झौताअनुसार रिफर भएका व्यक्तिहरूले अस्पतालमा विस्तृत स्वास्थ्य परीक्षण गर्न पाउनेछन् । यस अन्तर्गत कम्प्लिट ब्लड काउन्ट (CBC), लिभर फङ्सन टेस्ट (LFT), फास्टिङ ब्लड सुगर (FBS), गामा जीटी (GGT), लिपिड प्रोफाइल, क्रियाटिनिन, हेपाटाइटिस बी, एन्टी एचसीभी, एचआइभी परीक्षण र यूएसजी (अल्ट्रासाउन्ड) गरिनेछ।
सीबीसीले संक्रमण, रक्तअल्पता, रोग प्रतिरोधात्मक क्षमता र रक्तसम्बन्धी समस्या पहिचान गर्न सहयोग गर्छ। एलएफटीले कलेजोको कार्यक्षमता, हेपाटाइटिस, फ्याटी लिभर वा सिरोसिसको अवस्था पत्ता लगाउँछ। एफबीएसले रगतमा चिनीको मात्रा र मधुमेहको जोखिम मूल्याङ्कन गर्छ भने गामा जीटीले मद्यपान वा कलेजो क्षतिको संकेत देखाउँछ।
त्यस्तै, लिपिड प्रोफाइलले कोलेस्ट्रोल र मुटु रोगको जोखिम, क्रियाटिनिनले मिर्गौलाको अवस्था, हेपाटाइटिस बी र सी तथा एचआइभी परीक्षणले संक्रामक रोगको अवस्था पत्ता लगाउनेछ । यूएसजीमार्फत कलेजो, मिर्गौला तथा अन्य आन्तरिक अंगको विस्तृत अवस्था जाँच गरिनेछ।
जनस्वास्थ्यतर्फको महत्वपूर्ण कदम
विशेषज्ञहरूका अनुसार कलेजोसम्बन्धी रोगहरू प्रारम्भिक चरणमा लक्षणविहीन हुने भएकाले नियमित जाँच अत्यन्त महत्वपूर्ण हुन्छ। वडा २७ र वीर अस्पतालबीचको यो सहकार्यले वडावासीलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै रोगको समयमै पहिचान र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यस कार्यक्रममार्फत नसर्ने रोगको जोखिम घटाउँदै जनस्वास्थ्य सुधारतर्फ महत्वपूर्ण कदम चालिएको सरोकारवालाहरूको भनाइ छ।



