काठमाडौँ, — प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत केसी निर्वाचित भएका हुन्। ७८ वर्षका केसी हाल प्रतिनिधि सभाका ज्येष्ठ सदस्य हुन् ।
शपथ ग्रहणपछि केसीले ज्येष्ठ सदस्यको हैसियतले भोलि (चैत १२ गते) प्रतिनिधि सभाका सम्पूर्ण सदस्यहरूलाई शपथ ग्रहण गराउनेछन्। सभामुख निर्वाचित नभएसम्म प्रतिनिधि सभाको बैठकको अध्यक्षता पनि ज्येष्ठ सदस्यले नै गर्ने प्रावधान छ।
यस प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १ सय ६५ जना र समानुपातिक प्रणालीबाट १ सय १० जना गरी कुल २ सय ७५ सांसदहरू निर्वाचित भएका छन्।



