रूपन्देही, – कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी सहित तीन जनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले नाम परिवर्तन गरिएको ‘भैरहवा–१५’ की एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा कमलेश शरण चौधरी, राजेश्वर चौधरी र सन्तकुमार यादव विरुद्ध मुद्दा दर्ता गरेको हो ।
मुद्दा दर्ता भएसँगै गाउँपालिका अध्यक्ष चौधरीको पद संकटमा परेको बताइएको छ। तर अध्यक्ष चौधरीले भने आफू निर्दोष रहेको दाबी गर्दै कानुनी लडाइँ लड्ने बताएकी छन ।
मुद्दामा संलग्न रहेको आरोपमा सन्तकुमार यादव हाल पूर्वपक्ष (थुनछेक) का लागि रूपन्देही कारागार मा रहेका छन् ।
पीडित पक्षका अनुसार ‘भैरहवा–१५’ की युवतीले २०८१ साल असोज ६ गते सामूहिक बलात्कारको घटनामा चौधरीहरू र यादवको संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।
यसअघि पीडितको गोपनीयता भंग गरेको आरोपमा कमलेश शरण चौधरी साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउसमेत परेका थिए । तर तत्कालीन अवस्थामा महान्यायाधिवक्ताको कार्यालय को दबाबमा मुद्दा नचलाउने निर्णय गरिएको आरोप पीडित पक्षले लगाएको छ ।
पूरक जाहेरीपछि इलाका प्रहरी कार्यालय बुटवल ले मुद्दा दर्ता नगरेपछि पीडित युवतीले जिल्ला अदालत रुपन्देही मा रिट दायर गरेकी थिइन् । अदालतले त्यसपछि प्रहरीलाई मुद्दा अघि बढाउन निर्देशन दिएको थियो ।
उता अध्यक्ष चौधरीले आफूलाई फसाइएको दाबी गर्नुभएको छ । उनका अनुसार एक युवती घरबाट भागेको घटनामा मिलापत्र गराउन आफू संलग्न भएपछि पछि झूठा आरोप लगाएर पूरक जाहेरी दर्ता गरिएको हो । उनले यदि आफूले कुनै अपराध गरेको प्रमाणित भए सजाय भोग्न तयार रहेको, तर निर्दोष भए आफूलाई फसाउनेलाई कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन् ।



