काठमाडौँ – सरकारले देशभरका ९ हजार १२ भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको छ । निवेदन दर्ता गरेका परिवारलाई भूमि समस्या समाधान आयोग मार्फत पुर्जा वितरण गरिएको हो ।
आयोग मातहतका जिल्ला समितिले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालय मा नाम सिफारिस पठाएपछि परीक्षण गरी सरकारले पुर्जा वितरणको अनुमति दिएको आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले जानकारी दिए ,।
पुर्जा वितरणका लागि एकद्वार प्रणालीबाट लगत सङ्कलन गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको थियो । आयोग मातहतका जिल्ला समिति, सम्बन्धित पालिका तथा वडा तहसँग समन्वय गरी सबै विवरण प्रमाणीकरण गरिएपछि पुर्जा वितरण गरिएको जनाइएको छ ।
विज्ञ सदस्य शाहका अनुसार ‘भूमिहीन सुकुम्बासी’ भन्नाले देशभर कतै पनि जग्गा नभएका, आयआर्जन वा अन्य स्रोतबाट जग्गा व्यवस्था गर्न असमर्थ व्यक्ति तथा उनीहरूमाथि आश्रित परिवारका सदस्यलाई बुझिन्छ । पुर्जा वितरणका क्रममा ‘भूमिहीन दलित’लाई विशेष प्राथमिकता दिइएको छ । ‘भूमिहीन दलित’ भन्नाले राष्ट्रिय दलित आयोग द्वारा दलित भनी सूचीकृत समुदायका भूमिहीन सुकुम्बासीलाई जनाउँछ ।
त्यस्तै ‘अव्यवस्थित बसोबासी’ भन्नाले देशको कुनै स्थानमा जग्गा भए पनि अन्यत्र स्थानमा दशकौँदेखि बसोबास गर्दै आएका तर जग्गा आफ्नो नाममा दर्ता नभएका परिवारलाई जनाइन्छ । कम्तीमा १० वर्षदेखि घरटहरा बनाई आवाद कमोत गरी बसोबास गरेका व्यक्तिलाई यस वर्गमा राखिएको छ। उनीहरूलाई तोकिएको राजस्व लिएर पुर्जा वितरण गरिएको आयोगले जनाएको छ ।
भूमिहीन सुकुम्बासीको व्यवस्थापन राज्यको दायित्व भए पनि सार्वजनिक स्थल, सांस्कृतिक सम्पदा तथा अतिक्रमण गरी बनाइएका बस्तीलाई भने प्रमाणीकरण नगरिने आयोगले स्पष्ट पारेको छ।



