काठमाडौँ – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित नयाँ रणनीति अघि बढाइएको छ । आगामी हिउँदे तालिकादेखि अन्तर्राष्ट्रिय उडान संख्या वृद्धि गर्ने र वैदेशिक वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्ने योजना बनाइएको विमानस्थल प्रशासनले जनाएको छ ।
महाप्रबन्धक श्यामकिशोर साहका अनुसार, अहिले सीमित रूपमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको छ । “हामी गर्मीयामको तालिकादेखि उडान संख्या बढाउने लक्ष्यसहित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेका छौँ,” उनले भने ।
अहिले थाई एयर एसियाले सातामा दुई दिन बौद्ध धर्मावलम्बी लक्षित उडान सञ्चालन गर्दै आएकोमा आगामी हिउँदे तालिकादेखि यसलाई थप विस्तार गर्ने तयारी भइरहेको छ । लुम्बिनी–गयाजस्ता बौद्ध सर्किटलाई जोड्ने उडान विस्तारले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
महत्त्वपूर्ण पहलअन्तर्गत विमानस्थल प्रशासनले ‘फिफ्थ फ्रिडम’ उडान अवधारणा अघि सारेको छ । यसअनुसार विदेशी वायुसेवा कम्पनीहरूले भैरहवालाई ट्रान्जिट विन्दु बनाएर तेस्रो मुलुकसम्म उडान सञ्चालन गर्न सक्नेछन्। उदाहरणका लागि कतार एयरवेजले दोहा–भैरहवा–तेस्रो देश मार्गमा उडान सञ्चालन गर्ने सम्भावना छ ।
यसैक्रममा, नेपाल वायुसेवा निगमको एउटा जहाज भैरहवामा ‘बेस’ राख्ने योजना पनि अघि बढाइएको छ। यसले अन्तर्राष्ट्रिय उडान नियमित र भरपर्दो सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
रुपन्देही–४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाँले भने, “अबको केही दिनमा नेपाल एयरलाइन्सले भैरहवालाई बेस बनाएर उडान सुरु गर्ने तयारीमा छ ।”
हाल वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि विभिन्न चार्टर उडानहरू पनि सञ्चालनमा छन्। कुवेत एयरवेजले कुवेत सिटी–भैरहवा मार्गमा उडान दिँदै आएको छ भने साउदी अरबको दमामबाट उडान अनुमति प्रक्रियामा छ। महाप्रबन्धक साहले भने, “चार्टर र नियमित उडान दुवै निरन्तरता पाउनेछन् र शीघ्र नियमित उडान थप सुदृढ हुनेछ ।”
यो पहलले लुम्बिनी केन्द्रित धार्मिक पर्यटन प्रवद्र्धन मात्र होइन, वैदेशिक रोजगारीमा जाने नेपालीका लागि पनि सहजता ल्याउने अपेक्षा गरिएको छ । साथै, विमानस्थलको पूर्ण क्षमता उपयोगले क्षेत्रीय आर्थिक गतिविधि वृद्धि र समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन् ।



