काठमाडौँ – वीर अस्पताल (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान) ले अस्पतालमा सेवा प्रवाह व्यवस्थित गर्ने र कर्मचारी अनुशासन कडा गर्ने उद्देश्यले १४ बुँदे निर्णय सार्वजनिक गरेको छ।
अस्पताल व्यवस्थापन समितिको सोमबार बसेको बैठकले चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूको हाजिरी, पोसाक, बिरामीसँग व्यवहार, औषधि उपलब्धता र कार्यालय अनुशासन अनिवार्य रूपमा पालन गर्न निर्देशन दिएको छ।
अस्पतालका निर्देशक डा. दिलीप शर्माले निर्णय कार्यान्वयनमा आइसकेको जानकारी दिँदै भने, “सेवा प्रवाह प्रभावकारी बनाउन १४ बुँदे निर्णय गरेका छौं। यी निर्णय हाल कार्यान्वयनमा आएका छन्।”
निर्णयअनुसार अब कर्मचारीहरूले समयमै अस्पतालमा उपस्थित हुनुपर्नेछ। बिना कारण अनुपस्थित हुनेलाई नियमानुसार कारबाहीको सिफारिस गरिनेछ। बिहान साढे ९ बजेपछि कार्यालयमा आउने कर्मचारीलाई आधा दिन बिदा कटौती गरिनेछ। ढिलो हुने अवस्थामा निर्देशकको ह्वाट्सएप समूहमा जानकारी दिनुपर्ने नियम बनाइएको छ।
बिरामीको पुर्जा, प्रयोगशाला रिपोर्ट र डिस्चार्ज समरीमा चिकितकको नाम, एनएमसी नम्बर र हस्ताक्षर स्पष्ट हुनुपर्ने व्यवस्था गरिएको छ। स्वास्थ्यकर्मीले एप्रोन र परिचयपत्र अनिवार्य रूपमा लगाउने पनि निर्णय गरिएको छ।
अस्पतालको सरसफाइ व्यवस्थापन सुदृढ गर्न संगिता श्रेष्ठको संयोजकत्वमा सरसफाइ अनुगमन समिति गठन गरिएको छ। साथै, कर्मचारी हाजिरीको नियमित अडिटका लागि डा. मीन चन्द्र अधिकारीको संयोजकत्वमा हाजिरी अडिट समिति बनेको छ।
बैठकले २०८३ सालको सार्वजनिक बिदाको सूची गृह मन्त्रालयको निर्णयअनुसार कार्यकारी परिषद्मा पेश गर्ने निर्णय पनि गरेको छ। आगामी वैशाख १ गतेदेखि कार्यालय समय बिहान ९ बजे देखि साँझ ५ बजे (जाडोमा ९–४ बजे) कायम हुनेछ।
डा. शर्मा अनुसार ओटी, क्याथ ल्याब र इभिनिङ राउन्डमा खटिने स्वास्थ्यकर्मीलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ। फार्मेसी सेवामा सुधार गर्दै औषधि उपलब्धता र मौज्दात सम्बन्धी स्पष्ट जानकारी सेवाग्राहीलाई दिइनेछ।
अस्पताल प्रशासनले कर्मचारी ड्युटी रोस्टर भाइबर समूहमा अद्यावधिक गर्नुपर्ने र खटाइएको स्थानमा कर्मचारी नभेटिए सम्बन्धित निकायमा रिपोर्ट गरिने व्यवस्था गरेको छ। साथै, कार्यक्षेत्र छोडेर अन्यत्र भेटिए कर्मचारी आफैं जिम्मेवार हुने चेतावनी पनि दिइएको छ।
साथै, अस्पतालले स्वास्थ्यकर्मीहरूलाई बिरामीसँग शिष्ट, सभ्य र मुस्कानसहित व्यवहार गर्न निर्देशन दिएको छ र रुखो व्यवहार तथा लापरवाही कार्यशैली पूर्ण रूपमा बन्द गर्न कडाइ गरेको छ ।



