काठमाडौं – एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभाको पहिलो बैठकमै दिएको विवादित अभिव्यक्तिले पार्टी भित्र राजनीतिक तरंग उत्पन्न गरेको छ । बादलले संसद् सम्बोधनका क्रममा निर्वाचन परिणाम र राज्यका विभिन्न निकायबारे प्रश्न उठाएपछि एमालेकै शीर्ष नेताहरूले सार्वजनिक रूपमा असहमति जनाएका छन् ।
बादलले संसद्मा बोल्दै पछिल्लो राजनीतिक परिवर्तन र निर्वाचन परिणाम स्वाभाविक जनमतबाट नभई विभिन्न आन्तरिक तथा बाह्य शक्तिहरूको प्रभावबाट आएको संकेत गरेका थिए । उनले नेपाली सेना, कर्मचारीतन्त्र, केही आयोग तथा विदेशी संस्थाहरूलाई समेत अप्रत्यक्ष रूपमा परिणामसँग जोडेर टिप्पणी गरेका थिए ।
उनको उक्त अभिव्यक्तिपछि एमालेले शुक्रबार दिउँसो पार्टी कार्यालय च्यासलमा केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएको छ । बैठकमा बादलको अभिव्यक्ति, त्यसको राजनीतिक सन्देश तथा पार्टीको आधिकारिक धारणा बारे गम्भीर छलफल हुने बताइएको छ ।
पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत बादलको भनाइ पार्टीको स्थापित नीति र मान्यताविपरीत रहेको उल्लेख गर्दै सचिवालय बैठकमा यसबारे छलफल हुने जानकारी दिएका छन् ।
त्यसअघि एमालेका उपमहासचिव योगेश भट्टराईले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेपाली सेना, न्यायालय, संवैधानिक निकाय तथा कर्मचारीतन्त्रप्रति एमालेको सम्मान र विश्वास कायम रहने बताएका थिए। उनले पार्टी कुनै पनि अवस्थामा राज्यका संयन्त्रहरूसँग वैरभाव नराख्ने स्पष्ट पारे ।
यसैबीच एमालेका नेता सुरेन्द्र पाण्डे ले पनि सामाजिक सञ्जालमार्फत बादलको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै पराजयका कारणहरूबाट ध्यान हटाउन षड्यन्त्रका कथाहरू निर्माण गर्नु उपयुक्त नहुने बताएका छन् । उनले लेखेका छन्, “हिजो संसदमा षड्यन्त्रका लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो – सबै दोष अरूलाई !”
पाण्डेले पार्टीभित्र आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै वर्तमान राजनीतिक अवस्थाको जिम्मेवारीबाट पन्छिन नहुने बताएका छन्। उनका अनुसार जनताको आकांक्षासँग पार्टीको राजनीति मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु दीर्घकालीन रूपमा पार्टीका लागि हानिकारक हुन सक्छ ।
राजनीतिक रूपमा हेर्दा, संसद्को पहिलो बैठकमै यस्तो अभिव्यक्ति आउनु एमालेभित्रको आन्तरिक मनोविज्ञानको संकेतका रूपमा पनि हेरिएको छ । हालै सम्पन्न निर्वाचनपछि पार्टीले औपचारिक समीक्षा सुरु गरिसकेको छैन, तर परिणामले पार्टीभित्र गम्भीर बहस सुरु गराएको देखिन्छ ।
बुधबार मात्रै बादल एमाले संसदीय दलको नेता चयन भएका थिए । पार्टीभित्र उनको नेतृत्वबारे प्रश्न उठिरहेकै अवस्थामा उनी दलको नेता बनेका थिए । तर संसद्को पहिलो बैठकमै दिएको अभिव्यक्तिले नेतृत्व, रणनीति र आगामी राजनीतिक मार्गबारे थप बहस सिर्जना गरेको विश्लेषकहरू बताउँछन् ।
प्रतिनिधिसभाको बैठकमा करिब ६ मिनेट १७ सेकेन्ड बोलेका बादलले निर्वाचन परिणामप्रति शंका व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी को उदयलाई “रंग क्रान्ति” र “निलो क्रान्ति” को संज्ञा दिएका थिए । साथै उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै उक्त विजयमा आन्तरिक तथा बाह्य शक्तिहरूको भूमिका रहेको दाबी गरेका थिए ।
तर एमालेभित्रका धेरै नेताहरूले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष भएको भन्दै परिणामलाई स्वीकार गरेर आत्मसमीक्षा गर्नु नै सही राजनीतिक बाटो हुने धारणा व्यक्त गरेका छन् ।
यसरी पार्टीभित्र सार्वजनिक रूपमा फरक–फरक प्रतिक्रिया आउन थालेपछि एमाले अहिले राजनीतिक रूपमा संवेदनशील मोडमा पुगेको देखिन्छ । सचिवालय बैठकबाट आउने निर्णयले पार्टीको आधिकारिक धारणा मात्रै होइन, आगामी राजनीतिक रणनीति पनि स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।



