काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूबीच अर्थ मन्त्रालयमा विशेष भेटघाट भएको छ। पुँजी बजारको वर्तमान अवस्था तथा सुधारका उपायबारे छलफल गर्न उक्त भेट आयोजना गरिएको हो।
आज बिहान ९ः४५ बजेबाट सुरु भएको भेटवार्ता करिब आधा घण्टा चलेर १०ः१५ बजे सकिएको थियो। भेटका क्रममा एशोसिएसनका पदाधिकारीहरूले नेपालको शेयर बजारमा देखिएका समस्या, ब्रोकरहरूको कार्यक्षेत्र विस्तार तथा नीतिगत सुधारका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
छलफलका क्रममा एशोसिएसनले पुँजी बजारलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै लगानीकर्ताको मनोबल उच्च राख्न सरकारले अभिभावकीय भूमिका खेल्नुपर्ने माग राखेको थियो।
यसैबीच आइतबार दोस्रो बजारमा तीव्र गिरावट देखिएपछि लगानीकर्ताहरू पनि चिन्तित बनेका छन्। सो दिन शेयर बजार परिसूचक १०५ अंकले घटेपछि लगानीकर्ताहरूले अर्थमन्त्रीले शेयर बजारको अवस्थाबारे सम्बोधन गर्नुपर्ने मागसमेत उठाएका छन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (SBAN) ले शेयर बजारमा देखिएका विद्यमान समस्या समाधानका लागि अर्थमन्त्री वाग्लेलाई ६ बुँदे सुझाव पत्र बुझाएको छ।
एसोसिएसनले हाल पूँजीबजारमा ५६ लाखभन्दा बढी लगानीकर्ता र ९२ वटा ब्रोकरहरू रहेको तथ्यांक प्रस्तुत गर्दै नयाँ सरकार र अर्थमन्त्रीबाट बजारले ठुलो आशा राखेको उल्लेख गरेको छ। ब्रोकरहरूले बुझाएको सुझाव पत्रमा पूँजीबजार सुधारका लागि यसअघिका विभिन्न कार्यदलले दिएका सुझावहरू अविलम्ब कार्यान्वयन गर्न माग गरिएको छ ।
एसोसिएसनले अघि सारेका मुख्य ६ बुँदे मागहरू:
१. सुधार कार्यदलको सुझाव कार्यान्वयन: पूँजीबजार सुधारका लागि विभिन्न समयमा गठित कार्यदलले दिएका तर कार्यान्वयन हुन बाँकी रहेका सुझावहरू तत्काल लागू गरिनुपर्ने ।
२. बैंक तथा वित्तीय संस्थालाई सहज प्रवेश: बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीबजारमा सहज रूपमा प्रवेश र बाहिरिन सक्ने व्यवस्था गर्नुपर्ने। साथै, हाल रहेको शेयर खरिद गरेपछि ६ महिनासम्म बिक्री गर्न नपाइने व्यवस्था हटाउनुपर्ने।
३. गैर आवासीय नेपाली (NRN) लाई प्रवेश: गैर आवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहज रूपमा शेयर कारोबार गर्न पाउने व्यवस्था तत्काल मिलाउनुपर्ने।
४. पूँजीगत लाभकर र संस्थागत लगानी: बजेटमार्फत पूँजीगत लाभकरलाई नै अन्तिम कर (Final Tax) हुने गरी स्पष्ट पार्नुपर्ने। साथै, सरकारी संस्थान र विभिन्न कोषहरूको रकमलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाई लगानीकर्ताको मनोबल बढाउनुपर्ने।
५. अक्सन मार्केटको सुरुवात: हाल शेयर हस्तान्तरण हुन नसक्दा सिधै ‘क्लोज आउट’मा गएर लगानीकर्ताले जरिवाना तिर्नुपर्ने अवस्था छ। यसलाई अन्त्य गर्न र बजारलाई थप सुरक्षित बनाउन ‘अक्सन मार्केट’ यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने।
६. सेटलमेन्ट ग्यारेन्टी फण्ड: वि.सं. २०७५ मा नियमावली र २०७९ मा कार्यविधि बने पनि हालसम्म कार्यान्वयनमा नआएको ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड’ (राफसाफ सुनिश्चितता कोष) लाई नियामक निकायमार्फत निर्देशन दिएर तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने ।
एसोसिएसनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित उक्त पत्रमा यी समस्याहरू समाधान भएमा समग्र पूँजीबजारको समस्या हल हुने र लगानीकर्ताको मनोबल उच्च हुने विश्वास व्यक्त गरिएको छ।



