बीपी राजमार्ग र रोशी खोलाको अवस्था बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जादै

काठमाडौं – गृहमन्त्री सुदन गुरुङ बीपी राजमार्ग र रोशी खोलाको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षणका लागि काभ्रे जाने भएका छन् ।

गृहमन्त्री गुरुङसहितको टोली आज बिहान ९ बजे काठमाडौंबाट काभ्रेतर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उनले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी वर्षा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने पनि जनाइएको छ ।

बीपी राजमार्ग आसपासको क्षेत्रमा वर्षायाममा आउने बाढी र डुबानका कारण सडक तथा स्थानीय बस्तीहरूमा हरेक वर्ष समस्या दोहोरिँदै आएको छ। त्यसको दीर्घकालीन समाधानका उपाय खोज्ने उद्देश्यले गृहमन्त्रीको टोली स्थलगत निरीक्षणमा जान लागेको बताइएको छ ।