वैदेशिक रोजगारीमा जादा अब विमानस्थलमा हवाई टिकट र पैसा तिरेको रसिद अनिवार्य देखाउनुपर्ने

काठमाडौँ – वैदेशिक रोजगारीमा जाने श्रमिकले अब विमानस्थलको अध्यागमन जाँदा थप कागजात अनिवार्य रूपमा साथमा राख्नुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले २०८२ चैत २९ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था गरेको हो।

विभागका अनुसार वैदेशिक रोजगारीमा जाने सबै श्रमिकले विमानस्थलमा पुग्दा गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिल वा रसिद अनिवार्य रूपमा देखाउनुपर्नेछ। यो व्यवस्था संस्थागत तथा व्यक्तिगत दुवै प्रकारका श्रमिकका लागि लागू हुने जनाइएको छ।

त्यसैगरी, म्यानपावर कम्पनीमार्फत विदेश जाने श्रमिकले सम्बन्धित संस्थालाई बुझाएको सेवा शुल्कको आधिकारिक रसिद पनि साथमा राख्नुपर्नेछ। आवश्यक कागजात नभए विदेश यात्रा गर्न समस्या हुन सक्ने विभागले जनाएको छ।

विभागले सबै इजाजतप्राप्त म्यानपावर संस्थालाई सेवा शुल्क लिँदा श्रमिकलाई अनिवार्य रूपमा भौचर वा रसिद उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, आवश्यक कागजात पूरा गरेर मात्रै विमानस्थल जान श्रमिकलाई आग्रह गरिएको छ।

नियम पालना नगर्दा विदेश यात्रा प्रभावित हुन सक्ने भन्दै विभागले श्रमिकलाई सचेत रहन पनि अनुरोध गरेको छ।