चैत २७ मा उपसभामुखको निर्वाचन हुने

काठमाडौं – संघीय संसद्को प्रतिनिधिसभा मा उपसभामुखको निर्वाचन यही चैत २७ गते हुने भएको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्याल ले उपसभामुखको निर्वाचनको मिति तय गरिएको जानकारी दिएकाहुन् ।

यसअघि चैत २२ गते सभामुखको निर्वाचन भएको थियो। उक्त निर्वाचनमा अर्यालको एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित भए ।

प्रतिनिधिसभा नियमावली को नियम ७ अनुसार सभामुख चयन भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइन्छ। सोही प्रावधानअनुसार सभामुखले तोकेको दिन र समयमा उपसभामुखको निर्वाचन हुने व्यवस्था रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल तथा फरक लिङ्गका व्यक्ति हुनुपर्ने प्रावधान छ। तर प्रतिनिधिसभामा एउटै दलको मात्र प्रतिनिधित्व भएको वा एकभन्दा बढी दल भए पनि एकल उम्मेदवारी परेको अवस्थामा दुवै पद एउटै दलबाट पनि हुन सक्ने व्यवस्था रहेको छ।

हाल प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सहित ६ दलको प्रतिनिधित्व रहेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद छन्। त्यस्तै नेपाली कांग्रेस का ३८, नेकपा एमाले का २५, नेपाल कम्युनिस्ट पार्टी का १७, श्रम संस्कृति पार्टी का ७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का ५ सांसद रहेका छन्।

यस अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने दलको उम्मेदवार उपसभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ।