धर्तीको स्वर्ग बुढीनन्दा क्षेत्र (फोटो फिचर)

तस्विर : धर्मलाल सुनार 

बाजुरा, भदौ १५ गते । बुढीनन्दा बाजुरा जिल्लाको एक धार्मिक पर्यटकिय क्षेत्र हो । जिल्लाको कोल्टीमा अवस्थित यो क्षेत्रको ४५८१ मिटरको उचाईमा रहेको बुढीनन्दा ताल पर्यटकीय दृष्टिकोणले जति महत्वपूर्ण छ ।

त्योभन्दा बढि धार्मिक महत्व बोकेको छ, यो क्षेत्रले । त्यसैले त कठ्यांग्रिदो चिसो, कष्टकर यात्रा र वर्षाको परवाह नगरी दर्र्शनार्थीहरु खाली खुट्टा पाईला टेक्दा सुखानुभूति गर्छन । हरेक वर्ष जनैपूर्णिमामा बुढीनन्दा क्षेत्रमा लाग्ने मेला र मेलामा लाग्ने दर्शनार्थीको घुईचोले पनि यसको महत्व दर्शाउछ ।

ताल सँग लहरै अन्य चारवटा ताल जोडिएका छन् । वरपर चुन घाँस र रंगीविरंगी फूलले भरिपूर्ण पाटन तथा दुर्लभ जडीबुटी, डाँफे, नावरजस्ता वन्यजन्तु हरू देख्न सकिन्छ्र यो ताल प्राकृतिक रूपमा मात्रै होइन, ऐतिहासिक रूपमा समेत महत्त्वपूर्ण मानिन्छ ।

पौराणिककालमा महादेवले सतीदेवीको लास बोकेर पृथ्वीको परिक्रमा गर्ने क्रममा सतीदेवीको नासिका यस ठाउँमा पतन भएको स्वस्थानी पुराणमा पाइन्छ। नासिकाबाटै सुनन्दा भगवती र बूढीनन्दा भगवतीको उत्पत्ति भई शक्तिपीठमा परिणत भएको पौराणिक कथन छ ।

सुनन्दा भगवतीको जल बूढीनन्दा, मष्टा र धल्पुरा ताल हुँदै धौलागिरि पुगेर बड्डी खोलामा झरनाका रूपमा मिसिन्छ । बड्डी खोलामा जतिसुकै बाढी आए पनि कहिल्यै धमिलो हुँदैन, जसलाई स्थानीयहरू बूढीनन्दाको देन मान्छन् ।