सडक पुगेपछि फेरियो गाउँलेको जीवनशैली

चितवन – घरसम्मै गाडी पुग्न थालेपछि इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङ को दैनिकी फेरिएको छ। पहिले बजार पुग्न घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता थियो भने अहिले सवारी साधनमै सहज रूपमा आउजाउ गर्न पाइने भएको छ।

स्थानीय स्वास्थ्य संस्थामा कार्यरत गुरुङका अनुसार सडक सञ्जाल विस्तार भएपछि गाउँलेको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ। पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड आसपास बाहेक इच्छाकामनाका अधिकांश भू–भाग पहाडी क्षेत्रमा पर्दछन्। यहाँ बहुसङ्ख्यक जनजातिको बसोबास रहेको छ, जसमा करिब ३७ प्रतिशत चेपाङ समुदायका मानिस छन्। कुल जनसङ्ख्याको झण्डै ७५ प्रतिशत जनजाति समुदायको बसोबास रहेको बताइन्छ।

पञ्चबहादुर चेपाङका अनुसार गाउँगाउँमा सडक, विद्युत् र खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम घटेको छ। सडक सञ्जाल विस्तार भएपछि यहाँ उत्पादित कृषिजन्य वस्तु सहजै बजारसम्म पुर्‍याउन सकिएको छ।

गाउँसम्म मोटरसाइकल पुग्ने भएपछि बजारमा काम गर्नेहरू बिहान–बेलुका घरबाटै आवतजावत गर्न थालेका छन्। पहाडी भू–भाग हुँदै निर्माण गरिएको शक्तिखोर–फिस्लिङ सडक इच्छाकामना गाउँपालिका–२, ३ र ७ वडा हुँदै जाने ३५ किलोमिटर लामो सडक हो। यस सडकसँगै यहाँका भित्री सडकहरू पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डसँग जोडिएका छन्।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिका, बागमती प्रदेश सरकार र नेपाल सरकार का विभिन्न आयोजनामार्फत सडक तथा पुल निर्माण भएपछि गाउँ सहरसँग जोडिन सफल भएको छ। इच्छाकामनामा तीनै तहका सरकारले निर्माण गरेका सडकको लम्बाइ ४०० किलोमिटरभन्दा बढी पुगेको छ।

“सबै टोलमा सडक पुगेको छ, जसले यहाँका नागरिकको जीवनमा परिवर्तन ल्याएको छ,” अध्यक्ष गुरुङले भने, “गाउँपालिकाले विकास बजेटको ४० प्रतिशतभन्दा बढी सडक र पुल निर्माणमा खर्च गर्ने गरेको छ।”

यहाँबाट वार्षिक करिब नौ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री हुने गरेको छ। गाउँपालिकाले कृषिजन्य उत्पादन ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ। सुन्तलासँगै तरकारी उत्पादनबाट पनि किसानले राम्रो आम्दानी गर्न थालेका छन्। साथै खसी, बोका र कुखुराबाट मात्र वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतका अनुसार सडक सञ्जाल विस्तारले यहाँको पर्यटन विकासमा पनि टेवा पुगेको छ। धार्मिक महत्व बोकेका मठमन्दिर, ऐतिहासिक किल्ला उपरदाङगढी तथा जिल्लाकै सबैभन्दा अग्लो भू–भाग सिराइचुली जस्ता स्थानमा सडक पुगेपछि आन्तरिक पर्यटकको आगमन बढेको उनले बताए।