काठमाडौं – बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह लाई बिहीबार पदमुक्त गरेका छन्।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्री साहको विगतदेखि नै विवादित छवि रहेको र मन्त्री बनेपछि पनि मन्त्रालयको जिम्मेवारीसँग बाझिने गतिविधिमा संलग्न भएको आशंका भएपछि उनलाई पदबाट हटाउने निर्णय गरिएको हो। उनी मन्त्री नियुक्त भएको करिब १३ दिनमै पदमुक्त भएका हुन्।
स्रोतका अनुसार साह विगतमा एजुकेसन कन्सल्टेन्सीमार्फत मानिसहरू विदेश पठाउने विषयमा विवादमा परेका व्यक्ति हुन्। पछिल्लो समय पनि सोही प्रकारका संस्थासँग सम्बन्धित भेटघाट गरेको सूचना प्रधानमन्त्रीसमक्ष पुगेपछि उनलाई हटाउने निर्णय गरिएको बताइएको छ।
यस्तै, मन्त्री साहकी पत्नी जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको बैठकमा सहभागी भएको विषय पनि विवादमा परेको छ। स्वास्थ्य बीमा बोर्डले उनलाई लगातार ११ पटक बैठकमा अनुपस्थित भएको भन्दै सदस्य पदबाट हटाएको थियो। तर हाल उनी सदस्यको हैसियतमा बोर्ड बैठकमा सहभागी भएको विषयले थप प्रश्न उठाएको छ।
यी सबै विवाद र सम्भावित स्वार्थको द्वन्द्वका कारण प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेको बताइएको छ।



