म्याग्दी – कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि बन्द भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले ११ दिनपछि पुनः विद्युत् उत्पादन सुरु गरेको छ। आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य सम्पन्न गरी आयोजनाको २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याइएको हो। बाँकी २० मेगावाट क्षमताको अर्को युनिट पनि छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाले जनाएको छ।
आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले मर्मतसम्भार र आवश्यक प्राविधिक काम पूरा भएपछि एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरिएको जानकारी दिए ।
गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले आयोजनाका संरचना तथा उपकरणमा क्षति पुर्याएपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको थियो। हालै निर्माण सम्पन्न भई असोजको पहिलो सातादेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको आयोजनामा बाढीले क्षति पुर्याएपछि उत्पादन रोकिएको थियो।
बाढीका कारण विद्युत्गृहबाट उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा क्षति पुगेको थियो। नदीले धार परिवर्तन गर्दै स्विचयार्ड नजिकैसम्म कटान गरेको थियो भने टेलरेसबाट विद्युत्गृहभित्र पानी प्रवेश गर्दा संरचना डुबानमा परेको थियो।
विद्युत्गृहमा जम्मा भएको पानी हटाएर बाढीबाट क्षतिग्रस्त संरचना र उपकरणको मर्मत गरेपछि उत्पादन पुनः सुरु गरिएको आयोजना प्रमुख राजबहादुर विष्टले बताए। उनका अनुसार बाढी आएको ११ दिनमै एउटा युनिट सञ्चालनमा ल्याउन सफल भएको हो। अर्को युनिटबाट पनि छिट्टै उत्पादन सुरु गर्ने लक्ष्यसहित काम भइरहेको उनले जानकारी दिए ।
राहुघाट जलविद्युत् आयोजनामा २०/२० मेगावाट क्षमताका दुईवटा युनिट छन्। आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुँदै आएको छ। बाढीले अवरुद्ध बनाएको पहुँचमार्गको मर्मत गर्नुका साथै झीँ र दग्नामको सिमानामा रहेको बाँध क्षेत्रमा थुप्रिएको गेग्रानसमेत हटाइएको छ।
कालीगण्डकी नदीमा गेग्रान मिसिएपछि बाढीको सतह बढेर नदीले ग्राबेलको आधार रहेको किनार कटान गर्दै विद्युत्गृह क्षेत्रतर्फ क्षति पुर्याएको थियो। नदी कटानका कारण चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको करिब १५० मिटर खण्डसमेत बगाएको छ। नदीको कटानका कारण विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्डसमेत उच्च जोखिममा परेको छ।
बाढीले राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन र उपकरण पनि बगाएको छ। त्यस्तै, कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–१, दोवाको भिरकाटपारिका दुईवटा र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको छ।
क्षतिग्रस्त टावर तथा प्रसारण लाइन मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले बताए ।
बाढीका कारण दाना–खुर्कोट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति गर्दै आएका अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ क्षेत्रका पाँच जलविद्युत् आयोजनाको विद्युत् प्रसारणसमेत बन्द भएको छ। पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, ३८ मेगावाटको नीलगिरि–१, ७१ मेगावाटको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारण अवरुद्ध भएको हो।
राहुघाट आयोजनाको एउटा युनिट सञ्चालनमा आए पनि बाढीले क्षति पुर्याएका प्रसारण संरचना तथा नदी कटानको जोखिम व्यवस्थापन गर्नुपर्ने चुनौती बाँकी छ। अर्को युनिट सञ्चालनमा ल्याउने र क्षतिग्रस्त प्रसारण संरचना मर्मत गर्ने कामसँगै बाढीबाट प्रभावित विद्युत् संरचनाको पुनःस्थापना अघि बढाइएको छ।



