काठमाडौं महानगरका सबै वडामा कानूनी परामर्श सेवा अब निःशुल्क

काठमाडौं, चैत २ गते । काठमाडौं महानगरपालिकाका सबै वडामा आजबाट निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ । नेपाल ल क्याम्पससँग गत माघ १७ गते भएको सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन् ।

सेवामा जानुअघि बुधबार उहाँहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको छ । सेवा उपलब्ध गराउनका लागि ल क्याम्पसबाट आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ ।

त्यसका लागि क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन् । तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिने कामपाको भनाइ छ । बाँकी १५ जनालाई वैकल्पिक सूचीमा राखिएको छ ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरको निःशुल्क कानूनी सेवा जनमैत्री प्रशासन सञ्चालनको अभ्यास हो । यसप्रकारको अभ्यास यसअघि गरिएको छैन । यस्तो अभ्यास अन्य पालिकाले पनि गरेका छैनन् । यसको सिकाइबाट आगामी दिनमा एउटा मार्गचित्र कोरिनेछ ।