काठमाडौं – प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
नेपाल नगरपालिका संघ को ३३औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास र सुशासनलाई प्राथमिकतामा राख्न स्थानीय तहलाई आग्रह गरे ।
उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा कुनै प्रकारको त्रुटि हुन नहुने बताए ।
सभामुख अर्यालले संस्था वा व्यक्तिगत हितभन्दा सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्दै स्थानीय तहले जनताको मुहारमा खुसी ल्याउने र सरकारले जनताका लागि काम गरिरहेको अनुभूति दिलाउने गरी काम गर्नुपर्ने बताए ।
स्थानीय तहलाई थप सुदृढ बनाउन बजेट तथा विकासका विषयमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आफू प्रतिबद्ध रहेको पनि उनले बताए ।



