गरिब परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने पोखरा महानगरको निर्णय

कास्की – क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति तथा मध्यम गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।

गरिब घरपरिवारको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि आज महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशबीच सम्झौता भएको हो । महानगरका प्रमुख धनराज आचार्यका अनुसार विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि–२०८२, स्वास्थ्य बिमा ऐन र नियमावलीबमोजिम यो कार्यक्रम सञ्चालन गरिनेछ ।

उनका अनुसार महानगरभित्रका गरिब घरपरिवारको पहिचान तथा परिचयपत्रसम्बन्धी विवरणका आधारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त सूचीअनुसार आगामी विसं २०८३ जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बिमा गरिनेछ ।

स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार पाँच जनासम्म सदस्य भएको परिवारका लागि प्रतिपरिवार रु तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी सदस्य भएमा थप सदस्यका लागि प्रतिव्यक्ति रु सात सय बिमाबापतको रकम महानगरपालिकाले बिमा बोर्डलाई भुक्तानी गर्नेछ ।

निःशुल्क बिमा कार्यक्रममा सहभागी हुन तथा नवीकरणका लागि सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब घरपरिवार पहिचानको सिफारिस लिनुपर्नेछ । त्यसपछि दर्ता सहयोगीमार्फत भरिएको दर्ता फारामसहित महानगरपालिकाको स्वास्थ्य महाशाखामा आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

महानगर प्रमुख आचार्यका अनुसार आवश्यक प्रक्रिया पूरा गरी स्वास्थ्य बिमा बोर्डमा विवरण बुझाएपछि ती विवरण स्वास्थ्य बिमा सूचना प्रणालीमा प्रविष्ट गरिनेछ । यस कार्यक्रमले महानगर क्षेत्रका गरिबीको रेखामुनि रहेका नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

“आर्थिक अवस्था कमजोर भएका कारण आधारभूत स्वास्थ्य सेवामा पहुँच नपुगेको वर्गलाई यस कार्यक्रमले ठूलो राहत दिनेछ,” प्रमुख आचार्यले भने, “महानगरपालिका सम्पूर्ण नगरवासीको स्वास्थ्य सुरक्षा र प्रवद्र्धनका लागि सधैँ प्रतिबद्ध छ।”

महानगर स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले अति तथा मध्यम गरिब परिवारलाई बिमा कार्यक्रममा समेट्न सुरुमा दर्ता सहयोगीलाई आवश्यक अभिमुखीकरण गरिने जानकारी दिए । महानगरपालिकाले लक्षित वर्गलाई यस कार्यक्रमबाट लाभ लिन पनि अनुरोध गरेको छ ।