काठमाडौँ — सरकारले आजदेखि देशभरका बालबालिकालाई लक्षित गरी राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत आज र सोमबार दुई दिन कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापा का अनुसार कार्यक्रममार्फत छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदैछ। साथै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि अलबेन्डाजोल पनि खुवाइँदैछ।
कार्यक्रम सञ्चालनका लागि देशभरका स्थानीय तहहरूले पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरेका छन्। यस अभियानमा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन्।
चिकित्सकहरूका अनुसार भिटामिन ‘ए’ ले आँखाको ज्योति सुधार गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि र बालबालिकाको समग्र वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्छ। त्यस्तै, जुकाको औषधिले पेटका किरा नष्ट गरी कुपोषण, रक्तअल्पता, पेट दुख्ने तथा झाडापखाला जस्ता समस्या कम गर्न सहयोग पुर्याउँछ।
नेपालमा भिटामिन ‘ए’ कमी नियन्त्रणका लागि विसं २०५० मा आठ जिल्लाबाट सुरु गरिएको कार्यक्रम २०५९ सालदेखि देशभर विस्तार गरिएको हो। यस्तै, जुकाविरुद्धको औषधि वितरण कार्यक्रम २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ सालदेखि देशभर लागू गरिएको छ।
सरकारले हरेक वर्ष कात्तिक र वैशाख महिनामा बालबालिकालाई निःशुल्क भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ।



