सबै निर्णय प्रधानमन्त्रीमै किन ?, कानुनमा ठूलो फेरबदल नगरेसम्म काम गर्न सकिँदैन : हर्क

ललितपुर — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयताको मर्मअनुसार काम नभइरहेको भन्दै हरेक विषय प्रधानमन्त्रीसम्म पुग्ने वर्तमान अभ्यास अन्त्य गर्नुपर्ने बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास–निर्माणका काममा कानुनी जटिलता र मन्त्रालयबीचको असमञ्जसका कारण काम अघि बढ्न नसकेको बताए । “कानुनमा ठूलो फेरबदल नगरेसम्म काम गर्न सकिँदैन,” उनले भने।

राईले उदाहरण दिँदै भौतिक पूर्वाधार मन्त्रालयले सडक निर्माण गर्न खोज्दा वन मन्त्रालयले रोक्ने, खानेपानीका संरचना बनाउन खोज्दा पनि वन क्षेत्रको कारण अवरोध हुने जस्ता विरोधाभास रहेको उल्लेख गरे ।

उनले यस्तो अवस्थाले विकास प्रक्रियालाई सुस्त बनाएको भन्दै सरकारलाई कानुन संशोधन गरी स्पष्ट अधिकार र समन्वय सुनिश्चित गर्न आग्रह गरे ।

संघीयता प्रभावकारी बनाउन अधिकार विकेन्द्रीकरण आवश्यक रहेको उनको जोड थियो । “सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्था हुनु हुँदैन,” उनले भने।

त्यस्तै, उनले सबै जातजाति र समुदायको संस्कृतिको सम्मान गर्नुपर्ने धारणा राख्दै अल्पसंख्यक समुदायको पहिचान र अस्तित्व जोगाउनेतर्फ राज्य संवेदनशील हुनुपर्ने बताए ।

राईले संघीयताको वास्तविक कार्यान्वयनका लागि नीतिगत सुधार र व्यवहारिक परिवर्तन आवश्यक रहेकोमा जोड दिएका छन्।