भक्तपुर — नकपा एमाले तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित आफ्नो चर्चित घर पुनर्निर्माण नगर्ने निर्णय गरेका छन् ।
कुनै समय नेपाली राजनीतिको केन्द्रबिन्दु बनेको उक्त घरको बार्दलीबाट ओलीले नेता–कार्यकर्तासँग नियमित छलफल गर्ने गरेका कारण ‘बालकोटको बार्दली’ नै एक राजनीतिक प्रतीकका रूपमा स्थापित भएको थियो ।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको सो घर अब पुनर्निर्माण नगर्ने जानकारी ओली दम्पत्तीले निकटवर्तीसँग साझा गरेका छन् । आगलागीका कारण घर बस्न नहुने अवस्थासम्म बिग्रिएको र पुराना संरचना प्रयोग गर्न नसकिने अवस्था रहेको स्रोतले जनाएको छ ।
सम्पत्ति विवरणअनुसार बालकोटमा करिब डेढ रोपनी (झण्डै २४ आना ) जग्गा रहेको छ, जुन ओलीको नाममा नभई उनकी पत्नी राधिका शाक्यको नाममा रहेको छ । उक्त जग्गा २०५० को दशकमा खरिद गरिएको र २०६०/६१ तिर घर निर्माण गरिएको बताइएको छ ।
ओलीले २०६३ सालमा उपप्रधानमन्त्री हुँदा बुझाएको विवरणअनुसार घर निर्माणका लागि एभरेष्ट बैंक बाट १० लाख र नेपाल बैंक बाट ६ लाख रुपैयाँ ऋण लिएको उल्लेख छ ।
सन्तान नभएका ओली दम्पत्तीले २०७७ सालमै उक्त घरजग्गा आफ्नो निधनपछि नेपाल सरकारलाई दिने घोषणा गरिसकेका छन् । पछिल्लो समय स्वास्थ्य अवस्था कमजोर हुनु र गुण्डुमा नयाँ घर निर्माण भइरहेकाले बालकोटको घर पुनर्निर्माण नगर्ने निर्णयमा पुगेको जनाइएको छ ।
अब उक्त जग्गा र सम्पत्तिको भविष्यबारे अन्तिम निर्णय सरकारकै हातमा रहने बताइएको छ ।



