काठमाडौं – सरकारले मुलुकको समग्र आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको मूल्याङ्कनसहित ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार नयाँ सरकार गठनपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जिम्मेवारी सम्हालेसँगै उक्त दस्तावेज तयार पार्ने निर्णय गरिएको थियो । मन्त्रालयले स्थितिपत्रले वर्तमान आर्थिक अवस्थाको वस्तुनिष्ठ चित्र प्रस्तुत गर्नुका साथै आगामी नीति, योजना तथा बजेट निर्माणका लागि मार्गदर्शन गर्ने उद्देश्य राखेको जनाएको छ ।
सरकारले उक्त स्थितिपत्रलाई आगामी आर्थिक दिशा तय गर्ने आधार दस्तावेजका रूपमा लिएको छ । पछिल्ला वर्षहरूमा सुस्त आर्थिक वृद्धि, घट्दो निजी लगानी, बेरोजगारी, बढ्दो आयात निर्भरता तथा कमजोर कार्यान्वयन क्षमताजस्ता चुनौतीबीच दस्तावेज सार्वजनिक गरिएको हो ।
स्थितिपत्रले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको स्वीकार गर्दै रूपान्तरणका लागि पर्याप्त अवसर रहेको उल्लेख गरेको छ । स्थिर सरकार, सुशासन र लगानीमैत्री नीतिगत वातावरण निर्माण गर्न सके निजी क्षेत्रको विश्वास बढ्ने र स्वदेशी तथा विदेशी लगानी वृद्धि हुने अपेक्षा गरिएको छ ।
दस्तावेजमा जलविद्युत् क्षेत्रलाई प्रमुख सम्भावनाका रूपमा औँल्याइएको छ । सस्तो र भरपर्दो ऊर्जा उत्पादनमार्फत औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार तथा विद्युत् निर्यातबाट स्थिर आम्दानी हासिल गर्न सकिने उल्लेख गरिएको छ ।
यसैगरी, प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा हिमाली सम्पदामा आधारित पर्यटन विकासमार्फत ग्रामीण क्षेत्रमा रोजगारी र आय वृद्धि गर्न सकिने निष्कर्ष निकालिएको छ । पर्यटन पूर्वाधार र सेवा गुणस्तर सुधारमा जोड दिइएको छ ।
स्थितिपत्रले सूचना प्रविधि, कृत्रिम बौद्धिकता, रोबोटिक्स तथा डिजिटल उद्यमशीलतालाई आगामी दशकका प्रमुख अवसरका रूपमा पहिचान गरेको छ । साथै कृषि आधुनिकीकरण, औद्योगिक विकास, आपूर्ति शृङ्खला सुदृढीकरण तथा निर्यात प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ ।
पूर्वाधार विकासतर्फ यातायात, ऊर्जा, सिँचाइ र डिजिटल क्षेत्रमा लगानी बढाउनुपर्ने तथा सार्वजनिक–निजी साझेदारी (एएए) मोडेलमार्फत ठूला आयोजना अघि बढाउन सकिने उल्लेख गरिएको छ ।
रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी उत्पादन र उद्यमशीलतामा लगानी गर्नुपर्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप उपयोग गर्नुपर्नेमा पनि दस्तावेजले जोड दिएको छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको जनाएको छ । पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर नाघ्ने र अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर नजिक पुर्याउने लक्ष्य समेत निर्धारण गरिएको छ ।
स्थितिपत्रले आर्थिक नीतिहरूको प्रभावकारी कार्यान्वयनमा कमजोरी, सीमित स्रोत र प्राथमिकता निर्धारणमा समस्या रहेको स्वीकार गर्दै सुधार आवश्यक रहेको औँल्याएको छ ।



