काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको उल्लेख गर्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले ३६ वर्षका प्रधानमन्त्रीले देशको नेतृत्व गर्नु र आफू ५० वर्षको उमेरमै मन्त्रिपरिषद्को सबैभन्दा ‘वृद्ध’ सदस्य हुनु मुलुकमा ठूलो परिवर्तनको संकेत भएको बताए ।
“केही महिनाअघि यस्तो परिदृश्यको कल्पना पनि गरिएको थिएन,” उनले भने, “अब यो परिवर्तनलाई परिणाममुखी बनाउनु आवश्यक छ ।”
अर्थमन्त्री वाग्लेले प्रशासनिक तथा राजनीतिक संयन्त्रमा देखिएको बिचौलिया प्रवृत्ति र भ्रष्टाचारप्रति सरकार अझ कडाइका साथ प्रस्तुत हुने स्पष्ट पारे। पहुँच र भनसुनका आधारमा काम हुने संस्कृतिको अन्त्य गरिने उनको भनाइ थियो।
उनले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र अपरिहार्य रहेको उल्लेख गर्दै वर्तमान नियामकीय संरचना र ‘डिस्क्रेसन–ओरिएन्टेड’ ब्युरोक्रेसीका कारण इमानदार रूपमा व्यवसाय सञ्चालन गर्न कठिन भएको स्वीकार गरे।
“यो देश बनाउन निजी क्षेत्रबिना सम्भव छैन,” उनले भने, “तर निजी क्षेत्रले पनि आफ्नो माइन्डसेट र एप्रोच परिवर्तन गर्नुपर्ने आवश्यकता छ।”



