काठमाडौं महानगरले चैत्र १५ र १६ गते न्यायिक समितिको राष्ट्रिय सम्मेलन गर्दै

काठमाडौं, चैत ९ गते । काठमाडौं महानगरपालिकाले चैत्र १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले काठमाडौंमा आयोजना हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको उपप्रमुख सुनीता डंगोलले जानकारी दिनुभयो ।

सम्मेलनमा सबै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरी ४ सय ५० पालिकाबाट सहभागीता हुने उपप्रमुख डंगोलले बताउनुभयो ।

स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त भएका सफलता, भोगेका समस्या र चूनौति सम्बन्धी अनुभव सिकाई र भोगाई आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको उहाँको भनाई छ ।

सम्मेलनको पहिलो दिन बिभिन्न चार वटा मुख्य कार्यपत्रको प्रस्तुति हुने र दोश्रो दिन विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने डंगालले बताउनुभयो ।

पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख डंगोलले स्थानीय विवादहरु नजिकैको सरकारी कार्यालयहरुमा मेलमिलापका माध्यमबाट समाधान गराउनका लागि काठमाडौं महानगरले आवश्यक कानून तर्जुमा गरेर राजपत्रमा प्रकाशित गरिसकेको बताउनुभयो ।

जारी भएका कानूनी प्रवन्धको कार्यान्वयन गर्दै सवै वडामा महिला सञ्जाल गठन भइरहेको उहाँको भनाई छ । न्यायिक समितिमा आउने धेरै विवादहरुमा बहाल र कोठा खाली गराउने विषयका छन् । उक्त विषयलाई व्यवस्थापन गर्न महानगरले घरबहाल व्यवस्था निर्देशिका जारी रहेको छ ।