छत्रकोट गाउँपालिकाको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी – छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका–३ भेँडुवामा निर्माण गरिएको उक्त भवनबाट सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

नवनिर्मित चारतले भवनमा सभाहल, बैठक कक्ष तथा कर्मचारीका लागि आवाससहित ३२ वटा कोठा रहेका छन् । अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज आवतजावतका लागि भवनमा लिफ्टको व्यवस्था समेत गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेका अनुसार संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा ९ करोड १० लाख ९९ हजार ४३५ रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको हो।

भवन निर्माणको जिम्मा भरतपुरस्थित अम्बेमाँ बलदेव जेभीले पाएको थियो। निर्माण कम्पनीले २०८२ असार ५ गतेभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको भए पनि निर्धारित समयभन्दा करिब दुई महिना अगावै निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ।