काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले पुनः सिफारिस गरेपछि उक्त अध्यादेश आज जारी गरिएको हो।
यसअघि मन्त्रिपरिषद्ले सिफारिस गरेका आठमध्ये सात वटा अध्यादेश जारी गरिसकेका राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोही अध्यादेश जस्ताकोतस्तै पुनः सिफारिस गरेपछि राष्ट्रपतिले यसपटक जारी गरेका हुन् ।
नयाँ व्यवस्थाअनुसार अब संवैधानिक परिषद्को बैठकमा चार जना सदस्य उपस्थित भए पुग्नेछ र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिनेछ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद् ६ सदस्यीय निकाय हो। परिषद्मा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रियसभा अध्यक्ष सदस्य रहने व्यवस्था छ ।



