म्याग्दी – मङ्गला गाउँपालिका–५ छिसवाङमा सडक खुलेको १५ वर्षपछि स्तरोन्नति गरिएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने वैकल्पिक सडकअन्तर्गत पोक–सेराफाँट–पीपलबोट–छिसवाङ–खोप्टी–छ्यारछ्यारे–दरबाङ सडकको छिसवाङ खण्ड स्तरोन्नति गरिएको हो ।
बेनी–दरबाङ सडकको बाबियाचौर–दरबाङ खण्डको विकल्पका रूपमा प्रयोग हुने उक्त सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। सडक डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य–पदमदीप जेभीले निर्धारित समयअघि नै काम सम्पन्न गरेको जनाएको छ ।
निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यका अनुसार गत माघ महिनादेखि सुरु भएको योजना आगामी असारसम्म सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि तीन महिनाअघि नै काम सकिएको हो। दुई करोड पाँच लाख ५५ हजार रुपैयाँ लागतमा खहरेदेखि छिसवाङ हुँदै ओखोलासम्म करिब एक किलोमिटर ५०० मिटर सडकलाई पक्की नालासहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिएको छ।
विसं २०६७ मा मार्ग खुलेको उक्त सडक हालसम्म सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको थियो। साँघुरो सडकका कारण एकतर्फी मात्र सवारी सञ्चालन हुने गरेकोमा स्तरोन्नतिपछि आवतजावत सहज भएको स्थानीय दुर्गाबहादुर खत्रीले बताए ,।
सडक फराकिलो बनाउन स्थानीयवासीले स्वःस्फूर्त रूपमा जग्गा उपलब्ध गराएर सहयोग गरेका छन्। यो सडकबाट मङ्गला गाउँपालिका–५ का साथै मालिकाका वडा नं १ र २ का बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।
बेनी–दरबाङ सडकको बाबियाचौर–दरबाङ खण्ड पहिरो वा अन्य कारणले अवरुद्ध हुँदा वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने भएकाले यो सडक रणनीतिक दृष्टिले पनि महत्वपूर्ण मानिएको छ ।
यसअघि मङ्गला गाउँपालिकाले सेराफाँट क्षेत्रमा, गण्डकी प्रदेश सरकारले पीपलबोट खण्डमा तथा सङ्घीय सरकारले हिलवाङ–खहरेखोला क्षेत्रमा सडक स्तरोन्नति गरिसकेका छन् ।
स्थानीय किशोर मल्लका अनुसार हिलवाङ, ओखोला र अर्मनखोलामा मोटरेबल पुल निर्माण भए यो सडकमा वर्षभर नियमित यातायात सञ्चालन गर्न सकिनेछ। सङ्घीय सरकारले यसअघि खहरेखोलामा कल्भर्ट निर्माण गरिसकेको छ ।



