होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण

काठमाडौं – कोहलपुर नगरपालिका ले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ। अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढेपछि राहतस्वरूप झुल उपलब्ध गराइएको नगरपालिकाले जनाएको हो।

कोहलपुर–११ स्थित क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र खाली गराइएपछि विस्थापित भएका परिवारलाई हाल नयाँ बसपार्कको टर्मिनल भवनमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा राखिएको छ। त्यहाँ बसोबास गरिरहेका परिवारलाई लामखुट्टेको टोकाइबाट जोगाउन झुल वितरण गरिएको हो।

नगर प्रहरी प्रमुख वीरबहादुर थापा का अनुसार बालबालिका, महिला तथा ज्येष्ठ नागरिक लामखुट्टेको समस्याबाट बढी प्रभावित भएकाले तत्काल राहतस्वरूप झुल वितरण गरिएको हो । उनका अनुसार मङ्गलबार मात्रै ६९ परिवारलाई झुल वितरण गरिएको छ ।

नगरपालिकाले वडा नम्बर २ देखि १४ सम्म १६ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ, जहाँ अस्थायी आवास, खानेपानी र शौचालयको व्यवस्था गरिएको छ।

नगर प्रमुख पूर्णप्रसाद आचार्य ले वास्तविक भूमिहीन सुकुमवासीको पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गरिने बताएका छन् । उनले सार्वजनिक जग्गा अतिक्रमण रोक्ने नीति अनुसार नगरपालिका अघि बढिरहेको पनि बताए।

क्रिकेट मैदान आसपासको क्षेत्रमा रहेका १४८ घरटहरा हटाइएपछि अधिकांश परिवार होल्डिङ सेन्टरमा बसेका छन् भने केही आफन्त वा भाडाका घरमा सरेका छन्। उक्त क्षेत्रमा डोजर प्रयोग गरी शनिबार र आइतबार संरचना हटाइएको थियो ।