काठमाडौं,– लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाहीले कमल बहादुर शाहको अवस्था देखेर दया लागेको टिप्पणी गरेकी छन् ।
प्रादेशिक अस्पताल उद्घाटनलाई लिएर उत्पन्न विवादका बीच मुख्यमन्त्री शाहले कार्यक्रम सम्पन्न गरेको तथा आफ्नै निर्वाचन क्षेत्रमा बाक्लो सुरक्षा घेरामा आउनुपरेको अवस्थाप्रति नगरप्रमुख शाहीले असन्तुष्टि व्यक्त गरेकी हुन् । आफू विदेशमा रहेका बेला अस्पताल उद्घाटन गरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीको आलोचना गरेकी छन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, “म विदेशमा भएको मौका हेरेर कायरतापूर्वक सयौँ प्रहरीको घेराभित्र रहेर अस्पतालको बोर्ड अनावरण गर्नुको के अर्थ ? आफ्नै निर्वाचन क्षेत्रमा त्यो स्तरको सुरक्षाको घेरामा आउनुपर्ने परिस्थिति निर्माण हुनु मुख्यमन्त्रीको अवस्था देखेर दया लागेर आएको छ ।”
नगरप्रमुख शाहीले आफू अस्पतालसम्बन्धी विषयमा पहिलेदेखि लिँदै आएको अडानमा कायम रहेको बताउँदै नेपाल फर्किएपछि उक्त अडानलाई न्याय दिलाउन निरन्तर लागिरहने उल्लेख गरेकी छन् ।
उनले कार्यक्रममा सहभागी सरस्वती खड्काले दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएकी छन् । राज्यमन्त्रीको भनाइलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “प्रादेशिक अस्पताल उद्घाटनको नाममा लम्कीचुहा नगरपालिकामा प्रदेश सरकारका मुख्यमन्त्री, सामाजिक विकास राज्यमन्त्री, सचिव र अन्य केही व्यक्तिहरूले अस्पताल परिसरभन्दा बाहिर नाटक मञ्चन गरिरहँदा राज्यमन्त्रीको अभिव्यक्तिले मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।”
शाहीले राज्यमन्त्री खड्काले दिएको अभिव्यक्ति भ्रामक, आधारहीन र जनतालाई भ्रमित पार्ने खालको रहेको आरोप लगाउँदै सार्वजनिक पदको गरिमाअनुकूल व्यवहार नगरेको टिप्पणी गरेकी छन् ।
उनले वैशाख २१ गते सामाजिक विकास मन्त्रालयमा भएको बैठकको सम्झना गराउँदै अस्पतालसम्बन्धी विवाद समाधानका लागि सर्वपक्षीय तथा सर्वस्वीकार्य समिति गठन गर्ने विषयमा छलफल भएको दाबी गरेकी छन् । आफ्नो प्रस्ताव समितिलाई थप समावेशी र सर्वदलीय बनाउने रहेको उल्लेख गर्दै उनले राज्यमन्त्रीले तथ्यविपरीत अभिव्यक्ति दिएको आरोप लगाएकी छन् ।
प्रादेशिक अस्पताल उद्घाटनसँग सम्बन्धित विवादका विषयमा स्थानीय तह र प्रदेश सरकारबीच मतभेद देखिँदै आएको छ भने नगरप्रमुख शाहीको पछिल्लो अभिव्यक्तिले उक्त विवादलाई थप चर्चामा ल्याएको छ ।



