माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

खोटाङ, फागुन २ गते । अठ्ठाइसौँ जनयुद्ध दिवसका अवसर पारेर नेकपा (माओवादी केन्द्र) खोटाङले तीनदिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काम, कर्तव्य र अधिकार तथा योजना निर्माणका विषयमा प्रशिक्षित गर्ने उद्देश्यले आयोजित गोष्ठीमा माओवादी केन्द्रबाट निर्वाचित १० वटै स्थानीय तहका जनप्रतिनिधि तथा पार्टीका नेताहरू सहभागी छन् ।

जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित कार्यशालामा पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, अर्थ÷राजनीतिक विश्लेषक हरि रोका, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार अध्यक्ष भवानी बराल, अधिवक्ता हरिन्द्र राईलगायतले सहजीकरण गरिरहनुभएको छ । गोष्ठीमा स्थानीय तहका अधिकार र कानुनी व्यवस्था, ग्रामीण विकासको सन्दर्भ, सञ्चारमाध्यम र जनप्रतिनिधि, स्थानीय तहको विकासको सवाललगायतका विषयमा छलफल भइरहेको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डेले जानकारी दिनुभयो ।

कार्यशालामा माओवादी केन्द्रबाट निर्वाचित दुई पालिका प्रमुख, दुई उपप्रमुख, २३ वडाध्यक्ष, कार्यपालिका तथा वडासदस्य र पार्टीका नेता सहभागी छन् । पहिलो दिन भएको कार्यक्रममा ग्रामीण विकासको सन्दर्भ, सञ्चारमाध्यम र जनप्रतिनिधि, स्थानीय तहको विकासको सवालका विषयमा छलफल भएको छ ।

अनुशासन आयोगका अध्यक्ष राईले नेपाली राजनीतिको वर्तमान रुपरङ्गको परिकल्पनाको सुरुआत विसं २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्धका कारण सम्भव भएको बताउनुभएको छ । “मुलुकमा भएका वर्तमान राजनीतिक उपलब्धिहरू दशवर्षे जनयुद्धको जगमा भएको हो”, उहाँले भन्नुभयो, “अहिले पनि देशमा राजनीतिक तरलता कायमै छ । राजनीतिक स्थिरताका लागि राष्ट्रिय सहमति आवश्यकता छ । अहिले हाम्रो पार्टीले उठाएको राष्ट्रिय सहमतिको राजनीतिक एजेण्डा कसैलाई चिढ्याउन वा दङ्ग्याउन उठाइएको होइन । मुलुकको स्थिरता र शान्ति प्रक्रियालाई पूर्णता दिँदै मुलुकलाई समृद्ध बनाउनका लागि हो ।”

अठ्ठाइसौँ जनयुद्ध दिवसका अवसरमा माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा शुभकामना आदान–प्रदान तथा सहिदहरूको तस्वीरमा माल्र्यापण गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पार्टीका पोलिटब्यूरो सदस्य रामकुमार राई, पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, वैकल्पिक केन्द्रीय सदस्य ध्रुव बुढाथोकी, प्रदेश समिति सदस्य टङ्कबहादुर थापा, जिल्ला समन्वय समितिका पदाधिकारी एवं जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।

यसैबीच २८औँ जनयुद्ध दिवसका अवसमा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ कम्युनिष्ट लिग र अनेरास्ववियु (क्रान्तिकारी)ले सोमबार साँझ दिक्तेलको त्रिवेणी चोकमा दीप प्रज्ज्वलन गरेका छन् । विसं २०५२ फागुन १ गते सुरु गरेको जनयुद्धकै कारण वर्तमान राजनीतिक परिवर्तन सम्भव भएको जनाउँदै दीप प्रज्ज्वलन गरिएको अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला सचिव भुवन आचार्यले बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दुर्गाजन्ती राई, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार भवानी बराल, पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । दीप प्रज्वलन कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले एकआपसमा शुभकामना आदान–प्रदानसमेत गरेका थिए ।