अध्यक्ष मल्लको प्रतिक्रिया : तस्कर रोक्न प्रहरी चौकी माग्ने म नै तस्कर हुने हो भने भन्नु केही छैन

काठमाडौं – बाजुरा र हुम्लाको सीमावर्ती क्षेत्र लाम्पाटा, च्याचउर र रानीसैनको विवाद नयाँ मोडमा पुगेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाका केही स्थानीयले हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लविरुद्ध तस्करीसम्बन्धी उजुरी दर्ता गरेपछि अध्यक्ष मल्लले आरोपको कडा प्रतिवाद गरेका छन्।

एक अन्तरवार्तामा बोल्दै अध्यक्ष मल्लले आफूले सीमावर्ती क्षेत्रमा हुने अवैध जडीबुटी निकासी, वन्यजन्तु सिकार तथा तस्करी नियन्त्रणका लागि प्रहरी चौकी स्थापना गर्न पहल गरेको दाबी गर्दै त्यसैका कारण आफूविरुद्ध आरोप लगाइएको बताएका छन् ।

“तस्करी रोक्न प्रहरी चौकी आवश्यक छ भनेर आवाज उठाउने मान्छे नै तस्कर हुने हो भने मेरो भन्नु केही छैन,” उनले भने, “प्रदेश सरकारको बजेटबाट निर्माण भइरहेको प्रहरी चौकी नै भत्काउनेहरूलाई कसरी तस्कर नभन्ने ?”

उनका अनुसार स्थानीयको माग र सुदूरपश्चिम प्रदेश सरकारसँगको समन्वयमा लाम्पाटामा प्रहरी चौकी स्थापना प्रक्रिया अघि बढाइएको थियो। तर त्यसको विरोधमा ठूलो समूह परिचालित भएको उनले आरोप लगाए।

मल्लले गत जेठ ३ देखि ५ गतेसम्म करिब तीनदेखि चार सय जनाको समूह लाम्पाटामा जम्मा भई स्थानीयलाई बन्धक बनाएको दाबी गरे। उनका अनुसार क्यमा गरा लगायतका व्यक्तिहरूलाई नियन्त्रणमा राखिएको थियो।

“हामी, धनगढी उपमहानगरपालिकाका मेयर र प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै उनीहरू मुक्त भएका थिए,” उनले भने।

मल्लले घटनापछि आफूहरूले कानुनी प्रक्रिया अगाडि बढाएर मुद्दा दर्ता गरेको र त्यसकै प्रतिकारस्वरूप आफूविरुद्ध तस्करीको उजुरी हालिएको दाबी गरेका छन्।

उनले खार्पुनाथ गाउँपालिकाका अध्यक्षले सार्वजनिक रूपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोपसमेत लगाए। आफूले त्यससम्बन्धी भिडियो प्रमाण सुरक्षित राखेको र सार्वजनिकसमेत गरिसकेको उनको भनाइ छ।

मल्लका अनुसार जेठ ४ गते खार्पुनाथ गाउँपालिकाका अध्यक्षसँग टेलिफोन संवाद हुँदा त्यहाँ जम्मा भएका मानिसहरू फर्किसकेको जानकारी दिइएको थियो। तर भोलिपल्ट आफूहरू घटनास्थल पुग्दा अवस्था फरक रहेको उनले बताए।

“मलाई लक्षित गरेर ‘खोलामा फाल्नुपर्छ, काट्नुपर्छ, मार्नुपर्छ’ भन्ने नारासहित समूह आएको थियो,” मल्लले दाबी गरे, “प्रहरी टोलीले हस्तक्षेप नगरेको भए ठूलो घटना हुन सक्थ्यो।”

उनले सिमकोट प्रहरी, बाजुराको कोवाडी प्रहरी चौकीबाट खटिएको सुरक्षाकर्मी टोली तथा अन्य सुरक्षा निकायको सहयोगमा आफू सुरक्षित हुन सकेको बताए।

मल्लले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि प्रहरी चौकी अपरिहार्य रहेको दोहोर्याउँदै आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको जिकिर गरे।

उता, खार्पुनाथ गाउँपालिकाका केही स्थानीयले भने अध्यक्ष मल्लविरुद्ध तस्करीमा संलग्न रहेको आरोपसहित सम्बन्धित निकायमा उजुरी दिएका छन्। घटनाबारे प्रशासनले अनुसन्धान गरिरहेको जनाएको छ।

अध्यक्ष मल्लकाे जस्ताकाे तस्तै भनाइ

अँ अब यो, ‘जो चोर उसैको ठूलो स्वर’ भने जस्तो हो जस्तो लाग्छ।

जसले हामीले बाजुरा… हिमाली गाउँपालिका देखि लिएर सुदूरपश्चिम प्रदेशसँग हामीले अनुरोध गर्यौं, त्यहाँका स्थानीय बासीले अनुरोध गरेर पठाए। अनि हामीले त्यहाँ प्रहरी चौकी राख्न लाग्यो भनेर पनि मलाई आरोप लगाएको छ। अनि जो प्रहरी चौकी राख्नु पर्छ, यहाँ तस्करलाई आउन दिनु हुँदैन भन्ने मान्छे चाहिँ तस्कर हुने? जसले प्रहरी चौकी राख्न मिल्दैन भनेर आधा बनिरहेको, प्रदेशको रकमबाट त्यहाँको उपभोक्ताले बनाइरहेको प्रहरी चौकी ध्वस्त बनाउने तस्कर कि? त्यो प्रहरी चौकी आवश्यक छ, त्यहाँ गैरकानुनी हिसाबले जडीबुटी निकासी पैठारी हुन हुँदैन, वन्यजन्तु सिकार गर्नु हुँदैन भनेर भन्ने मान्छे तस्कर हुने?

त्यो त स्वतः देखिने कुरा हो। उनीहरूले जुन किसिमको लाम्पाटामा ज्यादती गरे, तीन-चार सय जना मान्छे आएर त्यहाँ तीन दिन सम्म, ३ गते देखि ५ गते सम्म त्यहाँ क्यमा गरा लगायतका मान्छेहरूलाई चाहिँ त्यहाँ बन्धक राखे। अनि त्यो बन्धक भइसकेपछि ५ गते हामीहरू म र धनगढीको मेयर साब सँगै सिमिकोटको प्रहरी र बाजुराको प्रहरी पुगेपछि ती मान्छे बन्धकबाट निकालिए। अनि हामीले यहाँ मुद्दा दर्ता गर्यौं।

अनि मुद्दा दर्ता गरिसकेपछि आफू पक्राउ पर्ने, अनि त्यहाँ समस्या हुने, कारबाही हुने कारण भएको देखेर उनीहरूले चाहिँ त्यसको हाम्रो मुद्दाको काउन्टरमा, रोक्नका लागि, त्यो मुद्दा रोक्नका लागि— अहिले पनि त्यहाँको अध्यक्षले बारम्बार भनिराखेको छ: “मेरो गलत गर्ने मान्छेलाई समातियो भने म आगो लगाउँछु, अस्ति कम भयो फेरि ध्वस्त बनाउँछु” भनेर खार्पुनाथ गाउँपालिकाको अध्यक्षले भनिराख्नु भएको छ। अब मलाई पनि उहाँले, म सँग भएको कुरा मैले भिडियो मार्फत सारा ठाउँमा पठाएको पनि छु।

४ गतेको बेलुका मैले गुम्माबाट “तपाईंका मान्छेहरू त्यहाँ धेरै आएका छन्, हाम्रा मान्छे थुनिएका छन्, तिनीहरूलाई मुक्त गराइदिनुस्, अरू कुरा प्रहरी चौकी नबनाउनु पर्ने भए पनि सल्लाह गरौँला, सीमाको बारेमा छलफल गरौँला हामीसँगका प्रमाणहरू जे छन् त्यो चाहिँ राखौँला, दुवै पक्ष मिलेर जानु पर्छ, म चाहिँ ती मान्छे नहटे सम्म माथि जाँदैन” भनेर मैले भन्या छु। त्यहाँको खार्पुनाथ गाउँपालिकाको अध्यक्ष, “मेरा मान्छे २० मिनेट भयो दाई सबै मान्छे फर्काइसकेँ त्यहाँ कोही पनि छैन तपाईंहरू जानुस्” भन्नुभएको छ— ४ गतेको बेलुका ४, साढे ४ बजे तिर।

अनि भोलिपल्ट ५ गते हामीहरू जाँदा ३ किलोमिटर तल-माथि लाम्पाटाबाट भागेर, ३ किलोमिटर तल आएको मान्छेलाई ३०-४० जना मान्छे आएर लखेटेर मलाई त्यहाँ मार्ने उद्देश्यले “खोलामा फाल्नु पर्छ, यसलाई काट्नु पर्छ, हिमालीको अध्यक्ष गोविन्द मल्ललाई काट्नु पर्छ मार्नु पर्छ” भनेर त्यहाँ नारा जुलुस भएको छ। ती मलाई लखेट्न आएका छन्। धनगढीको मेयर साबलाई थाहा छ, त्यो हामीसँग गएको प्रहरीलाई थाहा छ। त्यही प्रहरीले सिमिकोटको इन्स्पेक्टरको टोली र के रे यो हाम्रो बाजुराको कोवाडी प्रहरी चौकीको असई सापको नेतृत्वको टोलीले चाहिँ मलाई बचाएको अवस्था छ।

अनि जो तस्कर हुन्, सधैँ उनीहरूले जडीबुटी लिने, वन्यजन्तु तस्करी गर्ने मान्छेहरू तस्कर नहुने? त्यो तस्करी रोक्नका लागि प्रहरी चौकी स्थापना गर्नुपर्छ भनेर पहल गर्ने मान्छे चाहिँ तस्करी हुने हो भने त मेरो भन्नु केही छैन।”