काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह ले लिपुलेक–लिम्पियाधुरा सीमा विवादबारे नेपाल सरकारले भारत सरकारसँग पनि छलफल गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यो विवाद ऐतिहासिक रूपमा ब्रिटिश इन्डियाको समयदेखि सम्बन्धित भएकाले इंग्ल्यान्ड सरकारको पनि सरोकार रहने सरकारको धारणा रहेको स्पष्ट पारे ।
एमाले सांसद पद्मा अर्याल ले लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा भारत र चीनबीच भएको नयाँ समझदारीबारे सरकारको धारणा मागेपछि प्रधानमन्त्री शाहले नेपालले यस विषयमा दुवै देशलाई कूटनीतिक नोट पठाइसकेको जानकारी दिए ।
प्रधानमन्त्री शाहका अनुसार भारतले सो विषयमा दुवै देशका विज्ञहरू सहभागी हुने गरी टेबल टकमार्फत समाधान खोज्ने प्रस्ताव गरेको छ । उनले सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी रहेको पनि बताए ।
प्रधानमन्त्री शाहले ब्रिटिश शासनकालीन नक्सा र ऐतिहासिक दस्तावेजसँग सम्बन्धित भएकाले इंग्ल्यान्डसँग पनि परामर्श गरेर दीर्घकालीन समाधान खोज्ने सरकारको नीति रहेको उल्लेख गरेका छन्।
लिपुलेक–लिम्पियाधुरा सीमा विवाद नेपाल, भारत र चीनबीच संवेदनशील विषयका रूपमा लामो समयदेखि उठ्दै आएको छ।



