हुम्ला हुँदै कैलाश–मानसरोवर जाने भारतीय तीर्थयात्रीको चाप बढ्यो

काठमाडौं – हुम्ला हुँदै हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश–मानसरोवर दर्शन गर्न जाने विदेशी तीर्थयात्रीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । विशेषगरी भारतीय धार्मिक पर्यटकको आगमन बढेसँगै हुम्लाको पर्यटन तथा स्थानीय व्यापारिक गतिविधिमा समेत उत्साह थपिएको छ।

प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीका अनुसार हुम्लाको हिल्सा नाका गत वैशाखको पहिलो सातादेखि सञ्चालनमा आए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटकको आगमन सुरु भएको हो। वैशाखमा सुनसान देखिएको सिमकोट विमानस्थलमा जेठको पहिलो सातादेखि दैनिक रूपमा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार वैशाख ३० गतेदेखि जेठ २३ गतेसम्म नेपालगञ्ज हुँदै हुम्ला भएर कैलाश–मानसरोवर दर्शनका लागि दुई हजार ७४७ विदेशी पर्यटक भित्रिएका छन्। तीमध्ये वैशाख महिनामा ५५ महिला र ५९ पुरुष गरी ११४ जना पर्यटक हुम्ला पुगेका थिए ।

जेठ महिनामा भने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । यस अवधिमा एक हजार २९२ महिला र एक हजार ३४० पुरुष गरी दुई हजार ६३२ विदेशी पर्यटक कैलाश–मानसरोवर दर्शनका लागि हुम्ला पुगेका छन् ।

हुम्लाको बाटो कैलाश–मानसरोवर पुग्नका लागि छोटो र सहज मानिएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप बढ्न थालेको हो । चीनले हिल्सा नाका हुम्लावासी तथा भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकको आगमनमा वृद्धि भएको विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीले बताए ।

उनले कोरोना महामारीपछि कैलाश–मानसरोवर दर्शनका लागि हुम्ला आउने पर्यटकको यो सबैभन्दा ठूलो सङ्ख्या भएको उल्लेख गर्दै भारतीय पर्यटकको आगमन अझै बढ्दो क्रममा रहेको बताए ।

मौसम अनुकूल हुँदा नेपालगञ्जबाट दैनिक पाँचदेखि १० वटासम्म उडान हुने गरेको छ। हाल सीता एयर, समिट एयर र तारा एयरले नियमित उडान सञ्चालन गरिरहेका छन्। सिमकोटबाट हिल्सासम्म विभिन्न हेलिकोप्टर कम्पनीहरूले समेत पर्यटकलाई सेवा प्रदान गरिरहेका छन् ।

पर्यटकको आगमन बढेसँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार भारतीय पर्यटकका कारण स्थानीय नागरिकले रोजगारी पाएका छन् भने सिमकोट र हिल्साका होटल व्यवसायीले राम्रो आम्दानी गर्न थालेका छन् ।

उनका अनुसार होटल व्यवसाय मात्रै नभई यातायात, भरिया, गाइड तथा अन्य सेवा क्षेत्रमा समेत रोजगारीका अवसर सिर्जना भएका छन् । अहिले सिमकोट र हिल्साका अधिकांश होटल पर्यटकले भरिभराउ छन् ।

यसैबीच सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाले हुम्ला पुग्ने विदेशी पर्यटकबाट शुल्कसमेत सङ्कलन गर्दै आएका छन्। भारतीय पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिने व्यवस्था रहेको छ ।

जेठ, असार र साउन महिनालाई कैलाश–मानसरोवर दर्शनका लागि सबैभन्दा उपयुक्त समय मानिने भएकाले आगामी दिनमा पर्यटकको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।