काठमाडौँ — स्रोत अभावका कारण विगत केही वर्षदेखि अन्योलमा रहेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको भुक्तानी पछिल्लो समय तीव्र रूपमा अघि बढाइएको छ । नयाँ सरकार गठनपछि अघिल्ला सरकारका पालामा बाँकी रहेको बिमाबापतको बक्यौता रकम भुक्तानीले गति लिएको हो ।
पछिल्लो एक सातामा मात्रै सरकारले स्वास्थ्य बिमाबापत करिब रु एक अर्ब तीन करोड रुपैयाँ विभिन्न स्वास्थ्य संस्थाहरूको खातामा पठाएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । उक्त रकमबाट १५५ सरकारी, २५ सामुदायिक र ३७ निजी अस्पतालले बिमा भुक्तानी प्राप्त गरेका छन् ।
बोर्डका अनुसार अघिल्लो वर्षका बक्यौता रकमसमेत समेटेर पटक–पटक गरी यो भुक्तानी गरिएको हो । दुई दिनअघि मात्र विपन्न वर्गलक्षित रु ३२ करोड ६ लाखभन्दा बढी रकम पनि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको छ ।
स्वास्थ्य बिमा बोर्डका वरिष्ठ मेडिकल सुपेरिटेन्डेन्ट डा पवन शाहका अनुसार यसपटक सरकारी मात्र नभई निजी अस्पतालमा उपचार गराएका विपन्न नागरिकको दाबीसमेत भुक्तानी गरिएको छ । यसअघि केही समयसम्म सरकारी अस्पताललाई मात्र प्राथमिकता दिइँदै आएको थियो ।
मध्यविन्दु जिल्ला अस्पताल, भेरी अस्पताल, नारायणी अस्पताल, नेपाल मणिपाल शिक्षण अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा बीएन्डसी शिक्षण अस्पताललगायत सयौँ अस्पतालले बिमा रकम प्राप्त गरेका छन् ।
डायलाइसिस, मुटुरोग उपचार, टाउकोको गम्भीर चोट, स्पाइनल इन्जुरीलगायतका जटिल रोगको उपचारबापत विपन्न नागरिकका लागि शोधभर्ना रकम भुक्तानी गरिएको बोर्डले जनाएको छ । कागजात पूरा भएका दाबीहरूको मात्र भुक्तानी गरिएको पनि स्पष्ट पारिएको छ ।
सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन यस वर्षका लागि रु १५ अर्ब बजेट छुट्याएको छ । साथै, बिमा प्रणाली सुधार गर्न दायरा व्यवस्थापन, खर्च नियन्त्रण, र अस्पताल तथा आपूर्ति प्रणालीमा कडा अनुगमन गर्ने नीति अपनाउने तयारी गरिएको छ ।
यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमाजस्तो कल्याणकारी कार्यक्रमलाई अन्योलमा पर्न नदिन सरकारले बाँकी बक्यौता क्रमशः भुक्तानी गर्दै जाने बताइन् । उनले भविष्यमा समस्या दोहोरिन नदिन बिमा प्रणालीलाई कडाइका साथ नियमन गरिने पनि स्पष्ट पारिन् ।



