भोजपुर — भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि स्थानीय कृषकहरूले रुद्राक्ष खेतीलाई प्रमुख आयस्रोतका रूपमा विकास गर्न थालेका हुन् ।
स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाट किसानहरूले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। रुद्राक्षको सिजन सुरु भएसँगै गाउँमै व्यापारीहरू खरिदका लागि पुग्ने भएकाले बजारको समस्या नरहेको उनले बताए ।
“देशका विभिन्न स्थानबाट व्यापारीहरू रुद्राक्ष खरिद गर्न आउने गर्छन्,” थापाले भने, “बजारको सुनिश्चितताले किसानहरूलाई थप उत्साहित बनाएको छ ।”
मैदाने क्षेत्रको हावापानी र माटो रुद्राक्ष खेतीका लागि उपयुक्त भएकाले उत्पादन राम्रो हुने गरेको किसानहरूको अनुभव छ । एकपटक बिरुवा रोपेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले रुद्राक्ष खेती दीर्घकालीन आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ ।
वडा अध्यक्ष कुमार थापाका अनुसार रुद्राक्ष खेतीबाट उल्लेख्य आम्दानी हुन थालेपछि यस क्षेत्रलाई ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना अघि बढाइएको छ । “अन्य बालीको तुलनामा रुद्राक्षबाट किसानले राम्रो आम्दानी गरिरहेका छन्,” उनले भने, “यसको विस्तार र प्रवद्र्धनका लागि आवश्यक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौँ ।”
वडाले आगामी दिनमा रुद्राक्षका बिरुवा वितरण, प्राविधिक तालिम, बजार व्यवस्थापन तथा उत्पादनको ब्रान्डिङमा विशेष ध्यान दिने योजना बनाएको जनाएको छ ।
रुद्राक्ष खेतीसँगै यहाँका किसानले फलफूल तथा तरकारी खेती पनि गर्दै आएका छन्। तर पछिल्ला वर्षहरूमा रुद्राक्षबाट स्थायी आम्दानी हुन थालेपछि धेरै किसानले यसलाई प्राथमिकतामा राख्न थालेका छन् ।
स्थानीय तहले सिँचाइ सुविधाका लागि दुई वटा पोखरी निर्माण गरिदिएपछि मैदाने गाउँमा रुद्राक्ष खेती थप विस्तार भएको छ । साथै सडक पहुँचमा सुधार आएसँगै उत्पादनको खरिद–बिक्री र ढुवानीसमेत सहज बनेको किसानहरूको भनाइ छ ।
रोजगारी सिर्जना, किसानको आर्थिक अवस्था सुधार तथा कृषिमा आत्मनिर्भरता अभिवृद्धि गर्न रुद्राक्ष खेती प्रभावकारी माध्यम बनेको स्थानीयको विश्वास छ । मैदाने क्षेत्रको यो अभ्यास पहाडी तथा सुक्खाग्रस्त अन्य क्षेत्रका लागि पनि नमुना बन्न सक्ने सरोकारवालाहरूको भनाइ छ ।



