तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट साढे ४ अर्बभन्दा बढी अनुदान

तनहुँ – आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तनहुँ जिल्लाका १० स्थानीय तहले सङ्घीय सरकारबाट रु ४ अर्ब ५६ करोड ४७ लाख अनुदान पाउने भएका छन् । अर्थ मन्त्रालयले वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत उक्त रकम विनियोजन गरेको हो ।

विनियोजित बजेटअनुसार जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी अनुदान व्यास नगरपालिकाले प्राप्त गर्ने भएको छ भने सबैभन्दा कम बजेट घिरिङ गाउँपालिकाका लागि छुट्याइएको छ ।

व्यास नगरपालिकाले कुल रु ९४ करोड ३० लाख अनुदान प्राप्त गर्नेछ । यसमध्ये रु १८ करोड ६० लाख वित्तीय समानीकरण, रु ७५ करोड २० लाख सशर्त तथा रु ५० लाख समपूरक अनुदान रहेको छ ।

शुक्लागण्डकी नगरपालिकाले रु ६३ करोड ७८ लाख, भानु नगरपालिकाले रु ५९ करोड ६८ लाख तथा भिमाद नगरपालिकाले रु ४५ करोड ६९ लाख अनुदान पाउने भएका छन् ।

त्यसैगरी, ऋषिङ गाउँपालिकाका लागि रु ३६ करोड ५९ लाख, देवघाट गाउँपालिकाका लागि रु ३३ करोड ७० लाख, बन्दीपुर गाउँपालिकाका लागि रु ३२ करोड ६८ लाख, आँबुखैरेनी गाउँपालिकाका लागि रु ३१ करोड ४१ लाख, म्याग्दे गाउँपालिकाका लागि रु ३० करोड ६५ लाख तथा घिरिङ गाउँपालिकाका लागि रु २८ करोड २९ लाख बजेट विनियोजन गरिएको छ ।

सङ्घीय सरकारले स्थानीय तहको सेवा प्रवाह, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य विकास कार्यक्रम सञ्चालनका लागि विभिन्न शीर्षकमा अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। स्थानीय तहहरूले प्राप्त बजेटलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार विकास निर्माण र जनसेवा प्रवाहमा खर्च गर्नेछन् ।

जिल्लाका स्थानीय तहले प्राप्त गर्ने अनुदानमध्ये सशर्त अनुदानको हिस्सा सबैभन्दा ठूलो रहेको छ । यसले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा अन्य राष्ट्रिय प्राथमिकताका कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।