काठमाडौं — संसदमा पेस भइसकेको आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयलाई लिएर सरकारमाथि आलोचना भइरहेका बेला सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउ गरेका छन् ।
मंगलबार मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूले उठाएको प्रश्नमा प्रवक्ता पोखरेलले अर्थमन्त्री वाग्लेप्रति पूर्ण समर्थन रहेको बताए । उनले भने, “अर्थमन्त्रीज्यूले एकदमै मेहनत गरेर राम्रो बजेट ल्याउनुभएको छ । त्यसमा हाम्रो पूर्ण समर्थन छ ।”
संसदमा दर्ता भइसकेको आर्थिक विधेयकमा करका दर तथा अन्य व्यवस्था परिवर्तन गरिएको विषयमा अहिले प्रतिनिधिसभामा प्रश्न उठिरहेको छ । विपक्षी दलहरूले यसलाई गम्भीर विषय भन्दै संसदीय छानबिन समितिको मागसमेत गरेका छन्।
विवादका अनुसार संसदमा पेस भएको आर्थिक विधेयकबाट १६ पृष्ठ हटाएर अर्थ मन्त्रालयले संशोधित रूप वेबसाइटमा सार्वजनिक गरेको पाइएको छ । मूल विधेयक ४६४ पृष्ठको रहेकोमा पछिल्लो संस्करण ४४८ पृष्ठको मात्र रहेको उल्लेख छ।
त्यसैगरी करसम्बन्धी व्यवस्थामा पनि फरकपन देखिएको बताइएको छ, जसले कानुनी प्रक्रिया उल्लङ्घन भएको हो वा होइन भन्ने प्रश्न उठाएको छ।
संसदीय अभ्यासका जानकारहरूका अनुसार संसदमा पेस भइसकेको विधेयकमा कुनै पनि परिवर्तन गर्न संसदको स्वीकृति अनिवार्य हुन्छ। संशोधन गर्नुपरेमा संसदमै औपचारिक संशोधन प्रस्ताव ल्याउनुपर्ने प्रावधान रहेको उनीहरूको भनाइ छ।
तर मन्त्रालयले भने वेबसाइटमार्फत विधेयक संशोधन गरिएको भन्दै उठेको विवादप्रति सरकारभित्रै राजनीतिक बहस चुलिएको छ।



