फिफा विश्वकप–२०२६ : दक्षिण कोरियाको चेक रिपब्लिकमाथि २–१ को रोमाञ्चक जित

काठमाडौं, — फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोलअन्तरले पराजित गरेको छ। मेक्सिकोको ग्वाडालजारा रंगशालामा सम्पन्न खेलमा पुनरागमन गर्दै दक्षिण कोरियाले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।

खेलको ५९ औँ मिनेटमा चेक रिपब्लिकका लाडिस्लाभ क्रेज्चीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर उक्त अग्रता लामो समय टिक्न सकेन। ६७ औँ मिनेटमा दक्षिण कोरियाका हवाङ इन बोमले बराबरी गोल फर्काउँदै खेललाई १–१ को स्थितिमा ल्याए।

त्यसपछि ८० औँ मिनेटमा ओ ह्युन ग्युले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई २–१ को जित दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल सोही नतिजामा समाप्त भयो।

जितसँगै दक्षिण कोरियाले समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान तीन अंकसहित मेक्सिको शीर्ष स्थानमा रहेको छ।

यसअघि समूह ‘ए’ अन्तर्गत गएराति भएको अर्को खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि जित निकाल्दै विजयी सुरुआत गरेको थियो।