गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

काठमाडाैं – सांसदहरूले अर्बौं रुपैयाँ लगानीमा निर्माण भएका गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबार बसेको बैठकमा सांसदहरूले यी विमानस्थलको उपयोगिता बढाउन स्पष्ट कार्ययोजना बनाएर सम्बन्धित निकायहरू अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।

बैठकमा बोल्दै केही सांसदहरूले दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नुको कारणबारे छानबिन गर्नुपर्ने आवश्यकता औँल्याए। विमानस्थल निर्माणमा ठूलो सार्वजनिक लगानी भइसके पनि अपेक्षाअनुसार अन्तरराष्ट्रिय उडान सञ्चालन हुन नसक्दा राज्यलाई आर्थिक भार थपिएको उनीहरूको भनाइ थियो।

समिति सदस्यहरू जगदीश खरेल, डा. अर्जुन कार्की, गणेश कार्की, गणेशबहादुर विश्वकर्मा, तौफिक अहमद खान, रेनुका काउचा, राम लामा, प्रशान्त उप्रेती र अनुष्का श्रेष्ठले विमानस्थल सञ्चालनको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै शीघ्र समाधान खोज्न आग्रह गरे।

समिति सभापति सुम्निमा उदासले पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बढ्दो चाप व्यवस्थापन गर्न गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई व्यवस्थित र दिगो ढंगले सञ्चालन गर्नुपर्ने बताए । उनले दुवै विमानस्थललाई राष्ट्रिय पर्यटन र हवाई यातायात विकाससँग जोडेर उपयोगमा ल्याउन सरकार तथा सरोकारवाला निकायले समन्वित पहल गर्नुपर्नेमा जोड दिए ।