काठमाडौं – त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन गरिरहेको जनाएको छ। नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस संस्थाले आइतबारदेखि शुक्रबारसम्म निरन्तर सेवा उपलब्ध गराउँदै आएको हो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँका अनुसार अस्पतालमा बिहान ८ः३० बजेदेखि बिरामी दर्ता सुरु हुन्छ भने दिउँसो ३ बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिन्छ ।
आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अनुभवी नेत्ररोग विशेषज्ञ, अप्टोमेट्रिस्ट, नर्सिङ र प्राविधिक जनशक्तिमार्फत सेवा दिँदै आएको अस्पतालमा हाल १६ जना नेत्र विशेषज्ञ, १ जना एनेस्थेसियोलोजिष्ट, ७ जना अप्टोमेट्रिष्ट र ३ जना फेलो सहित करिब १५० जना कर्मचारी कार्यरत छन् ।
अस्पतालले दैनिक करिब ७०० देखि ९०० बिरामीलाई सेवा दिँदै आएको छ । यहाँ मोतिबिन्दु, रेटिना, जलविन्दु, कर्निया तथा बाल आँखा रोगसम्बन्धी जटिल उपचार र शल्यक्रियासमेत नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।
यसैगरी अस्पतालबाट बहिरङ्ग सेवा, विशेषज्ञ परामर्श, मोतिबिन्दु क्लिनिक, बाल आँखा सेवा र अर्थोप्टिक्स सेवा लगायतका उपचार उपलब्ध छन् । आकस्मिक अवस्थामा २४ सै घण्टा आकस्मिक सेवा तथा अन्तरङ्ग (इन–पेसेन्ट) सेवा सञ्चालनमा रहेकाले बिरामीले निरन्तर उपचार सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।



