यस वर्ष काठमाडौं महानरका १२८ स्थान डुबानको जोखिममा, आठ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले १२८ स्थानमा डुबानको जोखिम रहेको पहिचान गरेको छ । महानगरको अनुमानअनुसार सम्भावित डुबानका कारण आठ हजार ३१५ परिवार प्रभावित हुन सक्नेछन् ।

महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती र विष्णुमती नदीको दोभान आसपास तथा तल्लो भेगमा पर्ने वडा नम्बर १४ सबैभन्दा बढी जोखिममा रहेको छ। वडा नम्बर १३, १५, २९, १०, १६, २६, ३२ र १२ पनि उच्च जोखिममा रहेका वडामध्ये पर्छन् ।

डुबान हुने स्थानको सङ्ख्याका आधारमा वडा नम्बर ३० मा २१ स्थान, वडा नम्बर ४ र ३२ मा १०–१० स्थान जोखिमयुक्त रहेको पहिचान गरिएको छ । प्रभावित परिवारको सङ्ख्याका हिसाबले भने वडा नम्बर १६ सबैभन्दा संवेदनशील देखिएको छ । सामाखुशी, विष्णुमती र अन्य खहरे खोलाको प्रभावका कारण उक्त वडामा करिब एक हजार ६०० परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

महानगरका अनुसार वडा नम्बर २६ मा एक हजार २५५, वडा नम्बर ४ मा ९५५ र वडा नम्बर ३ मा ९५० परिवार डुबानबाट प्रभावित हुन सक्नेछन् ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै महानगरले मनसुनपूर्व तयारी तथा प्रतिकार्य योजना स्वीकृत गरेको छ । कार्ययोजनाअन्तर्गत वडास्तरीय विपद् व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवाजस्ता आकस्मिक सहायता संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ । आवश्यक स्रोत, साधन र उपकरणको विवरणसमेत तयार पारिएको महानगरले जनाएको छ ।

जोखिम न्यूनीकरण, उद्धार, राहत वितरण, व्यवस्थापन तथा पुनःस्थापनाका लागि महानगरका ११ वटा विभागलाई जिम्मेवारी तोकिएको छ । विपद्का बेला अस्थायी आश्रयका रूपमा प्रयोग गर्न सकिने ५१ वटा पार्क, २८ वटा खुला क्षेत्र र ८७ वटा विद्यालय पनि पहिचान गरिएको छ ।

पछिल्ला वर्षहरूमा अविरल वर्षाका कारण काठमाडौँमा बाढी तथा डुबानबाट सहरी जीवन प्रभावित हुँदै आएको सन्दर्भमा यसपटक जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखिएको महानगरले जनाएको छ। नदी तथा खोलाको सरसफाइ, डुबान नियन्त्रण र पूर्वाधार सुधारका कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।

कामपाकी कार्यवाहक प्रमुख तथा विपद् व्यवस्थापन समितिकी संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणका आधारमा जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको मनसुन अवधिका लागि कार्ययोजना स्वीकृत गरेको हो ।

डङ्गोलले सम्भावित डुबानको जोखिम कम गर्न पूर्वाधार मर्मत, सरसफाइ, अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । साथै विपद्को समयमा ठेगाना प्रणालीका कारण उद्धार तथा राहत कार्यमा अन्योल नहोस् भन्ने सुनिश्चित गर्न पनि सम्बन्धित विभागलाई निर्देशन दिइएको छ ।