रास्वपाको महाधिवेशन तयारी तीव्र : ६४ जिल्ला र ४ वटा प्रदेशको अधिवेशन सकियो, कहाँ कहाँ बाँकी ?

काठमाडौं : पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ६४ जिल्ला र ४ वटा प्रदेशको अधिवेशन सम्पन्न गरेको जनाएको छ ।

पार्टीका अनुसार वडा र पालिका तहका अधिवेशन पनि तीव्र रूपमा अघि बढिरहेका छन्। रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार हालसम्म ४ हजार ३६३ वडा र ६०९ पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ ।

तर केही स्थानमा भने आन्तरिक विवाद र विधान विपरीतका गतिविधिका कारण अधिवेशन प्रक्रिया प्रभावित भएको छ। केही अधिवेशन स्थगित भएका छन् भने केही बदरसमेत गरिएको पार्टीले जनाएको छ।

केही जिल्लामा अधिवेशन बाँकी

रास्वपाका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेश प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा जिल्ला अधिवेशन हुन बाँकी छ।

त्यस्तै अधिवेशन प्रक्रिया सुरु भएर पनि स्थगित भएका जिल्लामा सिन्धुपाल्चोक, सिरहा, महोत्तरी र रौतहट रहेका छन्।

प्रदेश अधिवेशनमा पनि असमान प्रगति

रास्वपाका सात प्रदेशमध्ये मधेश प्रदेशको अधिवेशन स्थगित अवस्थामा रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिवेशन प्रक्रिया भने जारी रहेको महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन्।

पार्टीले संगठन विस्तार र आन्तरिक संरचना निर्माणलाई महाधिवेशनको मुख्य तयारीका रूपमा अघि बढाएको जनाएको छ।

असारमा पहिलो राष्ट्रिय महाधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ।

महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन, नीति तथा संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ। हाल जिल्ला, प्रदेश, वडा र पालिका तहका अधिवेशन सम्पन्न गरेर प्रतिनिधि छनोट प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याउने काम भइरहेको पार्टीले जनाएको छ।