महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक सुरु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ। आगामी प्रथम महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर बैठक बसिरहेको जनाइएको छ ।

बैठकमा महाधिवेशनको तयारी, पार्टी विधान संशोधन, महाधिवेशन कार्यविधि तथा संगठनात्मक व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल भइरहेको रास्वपाले जनाएको छ।

पार्टीले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो प्रथम महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ। महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन आवश्यक नीतिगत तथा व्यवस्थापकीय निर्णयहरू सचिवालय बैठकमार्फत अघि बढाइने बताइएको छ।

रास्वपाको पहिलो महाधिवेशनबाट पार्टीको भावी नेतृत्व चयनसँगै संगठनात्मक संरचना र नीतिगत दिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।